बुटवल । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको झन्डा फहराइए पछि चर्चाकाे विषय बनेकाे छ । नेपालकाे विमानस्थलमा चिनियाँ झन्डा राखेपछि चासो बढेको हो।
सामान्यतया विमानस्थलको भवनमा आफ्नो देशको मात्रै झन्डा राख्ने प्रचलन हुन्छ। तर, केही महिनायता भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ झन्डा फहराएको छ। यसरी झन्डा फहराएको विषयमा सर्वसाधरण नागरिकहरुले चासो व्यक्त गरिरहँदा विमानस्थलले भने यसलाई स्वभाविक मानेको छ।
विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपका कामदारहरुले आफ्नो देशको झन्डा राखेको बताए। ‘विशेष उत्सव र पर्वमा चिनियाँहरुले झन्डा राख्ने गर्छन,’ उनले भने,‘यसलाई सामान्य रुपमा लिनुपर्छ ।’
उनले कहिलेकाहीँ मात्रै विमानस्थलको निर्माणमा खटिएका चिनियाँहरुले आफ्नो देशको झन्डा फहराएको बताए पनि विमानस्थलको भवनमै झन्डा देखिएकाले कूटनितिक रुपमा प्रश्न उठाइएको छ। चिनियाँ कामदारहरुले कार्यालय, कोठा र बैठक कक्षमा समेत चिनियाँ झन्डा राख्ने गरेका छन्। द्विपक्षीय सम्बन्ध कायम भएको देशहरुको विमानस्थलमा झन्डा राख्नु स्वभाविक भएको आयोजना प्रमुख अधिकारीले बताए। चिनियाँहरुले आफ्ना चाडपर्व, राजदूतावास र चिनबाट कोही आउँदा र विशेष अवसरका बेलामा झन्डा नियमित राख्दै आएका छन्।
विमानस्थलमा आइतबार बुद्धको मूर्ति अनावरणमाका बेलामा नेपालसहित चीन र स्पेनको झन्डा राखिएको अधिकारीले बताए। ठेकेदार कम्पनीले विमानस्थलमा टाढैबाट देखिने गरी झन्डा नियमित फहराउनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ। यसबारे जिल्ला प्रशासनले समेत कुनै जानकारी नभएको बताएको छ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले काम गरेको हो। अहिले पनि १५ जना चाइनिज कामदार विमानस्थलमा खटिएका छन्। ३ वर्षमा काम सम्पन्न गर्ने गरि विसं २०७१ माघ १ देखि ठेक्का लिइ काम सुरु गरेको हो तर ५ वर्ष बितिसक्दा पनि ठेकदार म्याद थप्न माग गरिरहेकाे छ । कूल रु ६ अर्ब २२ करोड ५१ लख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो। तर, निर्माण भने अझै पूरा भएको छैन।