काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफूहरुको माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु नहुने निष्कर्ष निकालेको छ । यो यस्तो अवस्थामा संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।
आफूपक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकको निर्णयमा माधवकुमार नेपाल समूहले आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने निष्कर्ष निकालेको छ ।
‘अन्यथा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गरी आम निर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेको स्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिनु नहुने स्पष्ट छ’ बैठकको निर्णयमा भनिएको छ ।
यस्तो स्थितिमा आफूहरु नेपालको संविधान, पार्टीको विधान र कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने नेपाल पक्षले चेतावनी दिएको छ ।