काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौंको बालकुमारीमा गोली प्रहार गरी तीन जना क्रोनिक लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा कैलाली टिकापुर नगरपालिका-५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका-३ का २० वर्षीय निरजकुमार मण्डल र पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेका छन्।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार काठमाडौँ उपत्यकामा लागूऔषध सप्लाई गर्ने गिरोहको सूक्ष्म निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका-३२ बालकुमारी पुलमुनि भारतको वासमतियाबाट ल्याइएको खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई फेला पारिएको थियो।
प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा आत्मसमर्पण गर्नुको साटो टोलीमाथि नै आक्रमण गरी भाग्न खोजेपछि प्रहरीले सुरुमा चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरेको थियो।
त्यसपछि पनि नरोकी भागिरहेकाले स्थिति नियन्त्रणमा लिन प्रहरीले किशोरप्रसाद ओझैयाको दाहिने खुट्टाको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी उनीहरू तीनै जनालाई समात्न सफल भएको हो। गोली लागी घाइते भएका ओझैयालाई तत्कालै उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको र अहिले उनको उपचार भइरहेको छ।
ब्यूरोको टोलीले उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरी थप अनुसन्धान अगाडि बढाएको छ।
प्रहरीको अभिलेख अनुसार पक्राउ परेका किशोरप्रसाद ओझैया यसअघि पनि लागूऔषध मुद्दामै तीन वर्ष कैद र एक लाख चार हजार रुपैयाँ जरिवाना भुक्तान गरेर वि.सं. २०८२ पुस १७ गते मात्रै नक्खु कारागारबाट छुटेका पुराना कारोबारी हुन्।
