सिरहा, — सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले रंगेहात पक्राउ गरेको छ। बुधबार उनलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ।
अख्तियारका अनुसार, नगरपालिकाअन्तर्गत २० लाख रुपैयाँको लागतमा निर्माण भएको नालासम्बन्धी योजना कार्यान्वयनमा रहेका उपभोक्ता समितिसँग मेयर साहले २० प्रतिशत कमिसन माग गरेका थिए। उपभोक्ता समितिले उक्त माग अस्वीकार गरेपछि मेयर साहले योजनाको चेक हस्तान्तरण गर्न मानेका थिएनन्।
लगातार एक सातासम्म बार्गेनिङ चलेपछि साहले चेक दिनुअघि न्यूनतम एक लाख रुपैयाँ बुझाउनुपर्ने र बाँकी रकम चेकको भुक्तानीपछि दिनुपर्ने सर्त राखेका थिए। उपभोक्ता समितिको उजुरीपछि अख्तियारले निगरानी थालेको थियो।
पक्राउपछिको प्रारम्भिक अनुसन्धानका क्रममा अख्तियारको टोली अहिले कल्याणपुर नगरपालिकाको कार्यालयमै रही मुचुल्का र अन्य कानूनी प्रक्रिया पूरा गरिरहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार, घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। उनले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन्।
