सिरहा— सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ११, पडरिया गाउँका विशेश्वर साह, जसले आफ्नो जीवन समाजसेवा, साधना र धार्मिक अध्ययनमा समर्पित गरेका छन्, करिब एक दशकपछि पुनः सार्वजनिक रूपमा उदाएका छन्। समाजप्रति गहिरो समर्पण, अध्यात्मिक साधना, र धार्मिक अध्ययनको लामो यात्राबाट परिपक्व साह, अहिले समाजमा एक नवनिर्मित धर्मगुरुको रूपमा सम्मानित छन्। साह अहिले एक जोगीको रूपमा परिचित छन्, जसले हिन्दू धर्म ग्रन्थदेखि अन्य धर्मका सिद्धान्त र नेपालको संविधानमा पनि गहिरो अध्ययन गरेर धार्मिक सहिष्णुता र सामाजिक सद्भावको प्रचार गरिरहेका छन्।
विशेश्वर साहलाई सिरहा क्षेत्रमा उच्च धार्मिक व्यक्तित्वका रूपमा मानिन्छ। समाज सुधारका लागि सत्य र न्यायको पक्षमा सधैं उभिइरहने साहलाई “सत्य साधक” का रूपमा व्यापक सम्मान प्राप्त छ। हालै, पत्रकार महेश सिंहसँगको संवादमा साहले आफ्नो उद्देश्य स्पष्ट पारेका थिए, “म समाज र राष्ट्रको समुन्नति चाहन्छु,” साहले भने, “आजको समयमा भ्रष्टाचार, सामाजिक विकृति, र अन्यायका विरुद्ध आवाज उठाउनु हाम्रो परम कर्तव्य हो।”
विशेष्वर साहको जीवन कथा त्याग, साधना र समाजप्रतिको निःस्वार्थ समर्पणको उदाहरण हो। साधनाको मार्गमा उनले लामो समय बिताउँदै आत्मज्ञानको उज्यालो प्राप्त गरेका छन्। यस ज्ञानबाट प्रेरित हुँदै, उनले सत्यको मार्गमा समाजलाई अग्रसर गराउन निरन्तर प्रवचन, धार्मिक कार्यक्रमहरू र सामाजिक सुधारका अभियानहरू सञ्चालन गर्दै आएका छन्।
साह भन्छन्, “धर्म भनेको केवल पूजा र अनुष्ठानमा सीमित रहनु हुँदैन। यो सत्य र न्यायको पक्षमा अडिग रहनु हो। समाजमा शान्ति, सहिष्णुता र सद्भाव फैलाउनु नै धर्मको मर्म हो। म यही सन्देश लिएर हिँडेको छु।”
सिरहाका स्थानीय बासिन्दाहरूले साहको योगदानको उच्च प्रशंसा गर्दै उनलाई समाजको एक प्रेरणादायी व्यक्तित्व मान्ने गरेका छन्। साहको प्रवचन र शिक्षाले समाजमा सकारात्मक परिवर्तन ल्याएको स्थानीयहरू बताउँछन्। समाजमा व्याप्त अन्धविश्वास र अज्ञानताको निराकरण गर्दै, साहले धर्मको वास्तविकता र मर्मलाई प्रवर्द्धन गर्दै समाजलाई आधुनिक धार्मिक सिद्धान्तका आधारमा शिक्षित बनाउने अभियानमा लागेका छन्।
साहले देशलाई भ्रष्टाचारमुक्त बनाउने र सामाजिक विकृति उन्मूलन गर्ने आफ्नो संकल्प व्यक्त गरेका छन्। उनी भन्छन्, “देशको उन्नति हाम्रो सामूहिक प्रयासबाट मात्र सम्भव छ। सामाजिक चेतना जगाउन र समाजको सुधार गर्न म सदैव प्रतिवद्ध रहन्छु।”
विशेष्वर साहको धार्मिक यात्रा र साधनाको कथा केवल धार्मिक क्षेत्रमै सीमित छैन; यो समाज परिवर्तनको प्रेरणादायी स्रोत बनेको छ। साहका प्रयासहरूले देशमा शान्ति, सहिष्णुता र सत्यको स्थापना गर्ने आशा गरिएको छ। समाजप्रतिको समर्पण, साधना, र सेवाभावबाट साहले धर्मगुरुको एक सच्चा आदर्श प्रस्तुत गरेका छन्।