राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यसमितिका तीन जना पत्रकारहरूले सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डललाई कारवाहीकाे माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका छन्।
अध्यक्ष मण्डल विरुद्ध महासंघका अध्यक्ष श्रवण कुमार देवले संस्थागत रुपमा तथा सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नविन कुमार गुप्ता र सदस्य विद्यानन्द रामले संयुकत रूपमा जाहेरी दिएका हुन्। पत्रकारहरुको एक टोली कार्यालयमा पुगेर सप्तरीका एसपी गजुसिद्दी बज्राचार्यलाई जाहेरी पत्र वुझाएको छ।
जाहेरीमा उल्लेख भए अनुसार केही वडा अध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयले अध्यक्ष मण्डल विरुद्ध शुरु गरेको आन्दोलनको रिपोर्टिङ गर्न मंगलबार तीन जना पत्रकारहरु गाउँपालिकाको कार्यालयमा पुगेका थिए।
अध्यक्ष मण्डलले तिनै जनलाई प्रमुख प्रशासकीय अधिकृतको कोठामा थुनेर दुव्र्यवहार गर्नुकासाथै क्यामरा, मोबाईल तथा माईक लगायतका सञ्चार उपकरण समेत खोसेका थिए। साे घटनामा संलग्न अध्यक्ष मण्डल सहितका दोषीलाई कार्वाहीको माग गर्दै बुधबार जाहेरी दिएको अध्यक्ष देवले बताए ।