नवलपरासी पूर्व — नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले हनुमान बोकर अध्योध्या खोज्दै हिँडेका कारण कम्युनिस्ट आन्दोलन ध्वस्त बनाएको आरोप लगाएका छन् ।
नेकपा एकीकृत समाजवादीको मेची-महाकाली जागरण अभियानअन्तर्गत शनिबार कावासोतीमा आयोजित सभामा महासचिव भूसालले हनुमान बोकेर हिँडने र धेरैपल्ट जनताबाट निर्वाचित संसद् भंग गरेर नेपालीको आर्थिक समृद्धिको चाहना एमाले अध्यक्ष केपी ओलीले ब्रेक लगाएको भूसालले दाबी गरेका हुन् ।
जनतालाई कुनै प्रतिफल नदिने भ्यू टावर निर्माण गर्ने र नेपाललाई आवश्यक नै नपर्ने पानी जहाजको सपना बाँडेर एमालेको मूल एजेन्डा बिर्सिंदै हिँडेपछि एमाले ध्वस्त भएको उनको जिकिर छ । त्यस्ता गैरराजनैतिक कामका कारण आफूहरू जस्ता मार्क्सवादी एमालेमा टिक्नै नसक्ने परिस्थिति आज पनि उस्तै रहेको भूसालको भनाइ छ ।
कम्युनिस्ट आन्दोलन र समाजवादको मर्मविपरीत ओलीले हुनमान बोकेर हिँडेकै दिन एमालेको भविष्य अन्धकारमा जकडिएको भूसालले आरोप लगाए । एमालेमा कम्युनिस्ट आन्दोलनलाई जनतासँग जोडन खोज्ने सही नेतृत्वलाई ओलीले ठुंग्ने गरेको र त्यहाँ जोडिएका अरु नेताले त्यही प्रवृत्तिको सर्मथनमा ताली बजाउने गरेकाले असल विचारधाराको राजनैतिक प्राणी त्यहाँ टिक्नै नसक्ने गरेको अनुभव उनले सुनाए । एमालेमा वैचारिक धार मरिसकेको र जनविरोधी गतिविधि मात्र शेष रहेको भूसालको जिकिर छ । ईकान्तिपुर