काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न आगामी बुधबार निर्वाचन हुने भएको छ।
संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिले बुधबार निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गरेको हो।
निर्वाचन समितिले घोषणा गरेको कार्यक्रमअनुसार बुधबार बिहान ८ बजेदखि १० बजेसम्म मतदान हुनेछ।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा हुने मतदानका लागि समयभित्र मतदान क्षेत्रमा प्रवेस गरी लाम लाग्ने मतदातालाई मतदान गर्न दिइने समितिका अध्यक्ष भीष्मराज आङ्देम्बेले बताएका छन्।
मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिएर आउनुपर्ने उनले जानकारी दिए।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेसका ८९ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
कांग्रेस संसदीय दलका नेताका लागि संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा उम्मेदवार हुने निश्चित छ।
यस्तै संस्थापन इतरबाट महामन्त्री गगन थापा र नेता शेखर कोइराला आकांक्षी देखिएका छन्।
पूर्वमहामन्त्री शशांक कोइराला पनि इच्छुक देखिए पनि उनले संसदीय दलको नेतामा सभापति देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।
त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि संसदीय दलको नेता बन्न चाहेका छन्। केही दिनअघि उनले सभापति देउवालाई भेटेर दलको नेताका लागि सहयोग गर्न आग्रह गरेका थिए।
अर्का नेता प्रकाशमान सिंहले आकांक्षा व्यक्त गरे पनि संसदीय दलको नेता बन्न उनी खासै सक्रिय देखिएका छैनन्।
कांग्रेस संसदीय दलको विधानमा प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने व्यवस्था छ।
यस्तो छ निर्वाचन कार्यक्रम :