मधेस प्रदेश । मधेशको मसिहा कहलाउने जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश विरोधी शक्ति संग गठजोड गरेर मधेशी जनतालाई खुलेआम धोखा दिएको राजनीतिक विश्लेशकहरुको धारणा रहेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसहित राज्य सञ्जालमा संलग्न दलहरुविरुद्ध आन्दोलन छेड्दै मधेसी युवा तथा जनतालाई सहभागी गराए । साथमा नारा दिए मधेस मुक्ति तथा हक अधिकार स्थापित गर्ने । उपेन्द्रको नारालाई कार्यकर्ता र मधेसी जनताले पत्याए । ज्यानको बाजी लगाएर, प्राणसमेत आहुती दिएर आन्दोलन सफल पार्न लागे ।
तर यादवले देखाएको त्यो बाटो फगत सत्ताका लागि थियो भन्ने यसअघि नै पुष्टि भइसकेको थियो । अहिले चुनावका बेला उनको मुभले सत्ता शक्तिका लागि मधेसी समुदायको भावनालाई तिलाञ्जली दिन तयार भन्ने पनि पुष्टि भएको छ । हिजोसम्म एमाले र जसपाबीच मधेश मुद्दालाई लिएर पानी बाराबारको स्थिति रहेको तथा जसपा कार्यकर्तालाई एमाले एक नम्बरको मधेशविरोधी पार्टी भनेर प्रशिक्षित गरिएको थियो ।
यसैक्रममा भिडन्तसमेत भएर केहीले शहादत प्राप्त गरेका थिए । अर्कोतर्फ एमालेले जसपालाई क्षेत्रीय संकीर्णतावादी पार्टी भन्दै होच्याएर छिःछिः, दुरदुर गरेको थियो । तर यति हुँदाहुँदै पनि सबै कुरा चटक्क बिर्सिएर नैतिकहीनरुपमा जसपाले एमालेसँग घाँटी जोड्नु मधेसमाथिको धोका हो भन्ने पुष्टि भएको छ । उपेन्द्रले घात गरेपछि कार्यकर्ता र मतदाता नै असन्तुष्ट बनेका छन् ।