काठमाण्डौ । ‘नमस्ते, आजबाट मैले सञ्चार क्षेत्रको आफ्नो यात्रालाई बिश्राम दिंदैछु । एउटा सञ्चारकर्मीका रुपमा मैले सकेको गरें । के गरें ? कति गरें ? तपाईँ दर्शकहरुसंग त्यसको हिसाब छ । र मलाई त्यो हिसाब कहिल्यै पनि चाहिदैन । र यदि मैले केही राम्रै गरेको रहेछु भनेपनि त्यसको ब्याज कहिल्यै माग्ने छैन । सञ्चार क्षेत्रमा रहेर मैले कसैको ठाउँ ओगट्न खोजिन । बरु आफ्नो छुट्टै र अलग्गै ठाउँ बनाउने कोशिश गरें । यो कोशिशमा मैले सधैं सिधा कुरा नै गरिरहें । र आज अर्को सिधा कुरा गर्न यहाँ आएको छु । अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्याउन चाहान्छु । म रहरले सञ्चारकर्मी भएको हो । तर परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो ।’ यो भनाई हो चर्चित सञ्चारकर्मी रवि लामिछानेको ।
नेपाली जनताको मन मुटुमा बस्न सफल टेलिभिजन प्रस्तोता लामिछानेले आजैका दिनदेखि राजनीतिमा लागेको स्वघोषणा गरेका छन् । उनले ग्यालेक्सी फोरके टेलिभिजनमा आफ्नो जागिर छाडेर राजनीतिमा आएको बताएका छन् । परिस्थितिले राजनीतिज्ञ बन्न लागेको भिडियो सार्वजनिक गरेर उनले सामाजिक सञ्जालमा आफ्ना दर्शकलाई यो कुराको जानकारी दिएका छन् । आगषमी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा रविले काठमाण्डौबाट चुनाव लड्ने तयारी गरिरहेको बताइन्छ ।
लामिछानेले सार्वजनिक गरेको उक्त भिडियोमा उनले आफुले शुरु गर्न लागेको राजनीतिक यात्राका विषयमा अषाढ ७ गते राष्ट्रिय सभाहलबाट जानकारी दिने पनि बताएका छन् । उनले भनेका छन्,‘मेरो जीवनको नयाँ यात्राको विषयमा तपाईँहरुलाई धेरै कुरा जान्न मन लागेको होला । किन राजनीतिमा प्रवेश गर्ने इच्छा राख्यो भनेर बुझ्न मन लागेको होला ? यस्ता धेरै कुराहरुको जिज्ञासा मेटाउनकालागी यही अषाढ ७ गते राष्ट्रिय सभा हलमा आउनु होला । त्यही नै सबै कुरा बताउने छु ।’ सञ्चारकर्मी हुँदा आवाज बिहीनहरुका आवाज बनेका लामिछाने अब राजनीतिको माध्यमबाट जनताको आवाज बन्ने तयारीमा छन् । रवीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने तयारी गरिएको श्रोतले बताएको छ ।