काठमाडौँ, असोज २४ — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले आफ्ना चिकित्सकहरूलाई बिरामीलाई सिफारिस गरिने जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन दिएको छ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रायका अनुसार, डाक्टरहरूले हतारमा औषधि लेख्दा नाम स्पष्ट नबुझिने, जसका कारण बिरामीको स्वास्थ्यमा जोखिम बढ्ने र फार्मेसीमा औषधि पहिचान गर्न कठिनाइ हुने समस्या देखिएकोले यस्तो कदम चालिएको हो।
“टिचिङ अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामी आउँछन्। डाक्टरहरूले कहिलेकाहीँ हतारमा प्रिस्क्रिप्सन गर्दा फार्मेसीवालालाई औषधि बुझ्न समय लाग्ने गरेको पाइन्छ, त्यसैले अबदेखि क्यापिटल अक्षरमा लेख्न निर्देशन गरिएको हो,” रायले भने।
हाल टिचिङ अस्पतालको ओपिडी (OPD) मा दैनिक करिब २५०० देखि ३००० बिरामी उपचारका लागि आउने गरेका छन्, भने आकस्मिक (इमरजेन्सी) कक्षमा करिब १५५ देखि १६० जना बिरामी दैनिक सेवाग्राही हुने गरेका छन्।
अस्पताल प्रशासनको भनाइअनुसार, यो निर्देश कार्यान्वयन भएपछि डाक्टरहरूको काममा केही समय थपिए पनि बिरामीले सही औषधि पाउने, औषधि वितरणमा त्रुटि घट्ने र समग्र स्वास्थ्य सेवा प्रणाली अझ सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।