एजेन्सी- असोज २ गते ।
क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध खराब हुँदै गएको छ । भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको हो ।
क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गर्ने २४ घण्टे अल्टिमेटम दिएको थियो । त्यस लगतैमंगलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न भनेको जानकारी गराएको छ ।
‘भारतका लागि क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारतमा रहेका क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराइएको छ ।
सम्बन्धित कूटनीतिज्ञलाई ५ दिनभित्र भारत छाड्न भनिएको छ’, भारतीय विदेशमन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णयले हाम्रो आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नताप्रति भारत सरकारको बढ्दो चिन्तालाई झल्काउँछ ।’
यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारका एजेन्टले गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताएका थिए ।














