काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरुले सभापति शेरबहादुर देउवा नै अबको संसदीय दलको नेता भएको बताएका छन् । महामन्त्री गगनकुमार थापाले संसदीय दलमा आफू लड्ने बताइरहेका बेला कांग्रेसका निर्वाचित सांसदहरुले संसदीय दलमा देउवाको विकल्प नभएको बताए । वर्तमान परिस्थितिमा सबै दललाई मिलाएर सरकार बनाउने र प्रतिगमनकारी प्रवृत्तिलाई टाउको उठाउन नदिन देउवाको नेतृत्व अपरीहार्य भएको उनीहरुको भनाइ छ ।
सुर्खेत १ बाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्का र सुनसरी ४ बाट निर्वाचित सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मोरङ ६ बाट निर्वाचित नेता शेखर कोइरालाले संसदीय दलमा देउवाको विकल्प नभएको बताएका हुन् ।
उपसभापति खड्काले संसदीय दलको नेतामा सभापति देउवाको विकल्प खोज्न नहुने बताए । पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको उल्लेख गर्दै उनले देउवाले दलको नेतामा चाहना राखेपछि दायाँबायाँ कुरा गरिराख्नु नपर्ने बताए । अहिले कांग्रेसभित्र एकताको वातावरण बनाउन आवश्यक रहेको भन्दै उनले दलको नेताको निर्वाचन सर्वसम्मत रूपमा गर्नुपर्ने बताए । ‘सीधा कुरा छ, नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौँ, सत्तागठबन्धन होमिएको छ। विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ। सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको वेलामा धेरै दायाँबायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने ।
त्यस्तै सञ्चारमन्त्री कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताए । उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र संसदीय दलको नेता भएर देउवा नै प्रधानमन्त्री बन्ने बताएका हुन् । नेता कोइरालाले संसदीय दलमा देउवाकै बहुमत भएकाले उनकै नेतृत्वमा सरकार गठन हुने बताए । महामन्त्री गगन थापाले मिडियामा आफू दलको नेतामा लड्ने र प्रधानमन्त्री हुने ढिपी गरिरहेका बेला कांग्रेसका निर्वाचित सांसदहरु देउवाको विकल्प नभएको भन्दै बोल्न थालेका छन् ।














