काठमाडौं : संघीय संसदका कर्मचारीका लागि बनाइएको लोगो डिजाइनअनुसार तयार नभएपछि घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता गरिएको छ। घरेलु तथा साना उद्योगबाट प्राप्त भएका व्याच पिनहरुमा संचरनागत र साजसज्जामा त्रुटि देखिएकाले सोको सुधार र परिमार्जनका लागि मंगलबार उद्योगलाई फिर्ता गरिदिएको संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए।
केही दिनअघि कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नयाँ लोगोमा देखिएका त्रुटिबारे संसद् सचिवालयका अधिकारीहरूको ध्यानाकर्षण गराएकी थिइन् । सचिवालयले ३५० थान लोगो बनाउन गत असार २१ गते घरेलु कार्यालयलाई जिम्मा दिएको थियो। सचिवालयका अनुसार २ लाल सुनको जलपमा १ तोला चाँदीको लेप लगाई ५ हजार ५ सय २७ रुपैयाँमा प्रत्येक लोगो निर्माण भएको हो । साढे तीन सयवटा लोगो बनाउन झन्डै २० लाख रुपैयाँ खर्च भएको सचिवालयले जनाएको छ।
सो कार्यालयले नेपालको अद्यावधिक नक्सालगायत विषयमा परिमार्जन गरी लोगो उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। टेकवीर मुखियाले यसको डिजाइन गरेका हुन् । करिब डेढ महिना लगाएर कलाकारहरूले हातैले कुदेर नयाँ लोगो बनाएका हुन् । मुखियाले यसअघि संसद्ले प्रयोग गर्दै आएका लोगोको पनि डिजाइन गरेका थिए ।