पोखरा । तनहुँ शुक्लागण्डकीकी स्मृति शर्मा वाग्लेले ३ लाख रुपैयाँमा सानो व्यवसाय सुरु गरिन् । सैनिक परिवारकी वाग्लेले व्यवसाय सुरु गरेपछि सैनिक कल्याणकारी कोषको लघुवित्त कर्जामा सहभागी भइन् र ७ लाख रुपैयाँ कर्जा लिइन् । अहिले उनको व्यवसायले ५० लाख रुपैयाँभन्दा बढी कारोबार गरिरहेको छ ।
वाग्ले बुधबार पश्चिम पृतना हेडक्वाटर विजयपुर ब्यारेक पोखराबाट सर्वोत्कृष्ट लघु व्यवसायीका रुपमा सम्मानित भइन् ।
कल्याणकारी कोषबाटै लगानी लिएर व्यवसाय सुरु गरेका गोरखाका अवकास प्राप्त सैनिक चन्दसिंह बस्नेत उत्कृष्ट व्यवसायी बने । ८ लाख लगानीबाट सुरु गरेको बेमौसमी तरकारी खेतीको कारोबार अहिले ३० लाख पुगेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी सैनिक चोलाबहादुर खड्काकी श्रीमती सीता खड्काले सुजित एन्ड सुजाता किराना पसल सञ्चालनका लागि ७ लाख रुपैयाँ बुधबारै ऋण लिइन् । १५ लाख रुपैयाँ लघुवित्त तथा महिला उद्यमी कर्जा लिएर पोखरा ११ निवासी अवकास प्राप्त सैनिक परिवारकी गीता सापकोटाले किचन कर्नर थालेकी छन् ।
यसरी सैनिक कल्याणकारी कोषमार्फत कर्जा लिएर व्यवसाय थालेका, गरिरहेका र सफल भएका थुप्रै उदाहरण छन् । तर, अझै पनि धेरै भूपू सैनिक तथा तिनका परिवार देश, विदेशमा भौंतारिइरहेको देख्दा पीडाबोध हुने प्रधानसेनापति पूर्णचन्द्र थापा बताउँछन् । थापाले बुधबार पोखरामा भूतपूर्व सैनिक तथा तिनका परिवारलाई सम्बोधन गर्दै भने, ‘अवकास प्राप्त सैनिकले वैदेशिक रोजगारीको बाटो नरोजून् भनेर कल्याणकारी कोषमार्फत सेवा, सुविधा प्रदान गर्दै आइरहेका छौं । कल्याणकारी कोषबाट प्रदान गरिएका सेवा र सुविधा प्रयोग गरेर स्वदेशमै पौरख गर्न म अनुरोध गर्दछु ।’
२०३२ सालमा संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत मध्यपूर्वमा नेपाली सेना सहभागी भएबापत करिब १ करोड २४ लाख रुपैयाँ नगद प्राप्त गरेको थियो । त्यही रकमबाट सैनिक कल्याणकारी कोष स्थापना भएको थियो । २०७७ साल पुस मसान्तसम्म आइपुग्दा यो कोषमा ५७ अर्ब ९८ करोडभन्दा बढी रकम जम्मा भइसकेको छ ।
यो कोषबाट बहालवाला तथा अवकास प्राप्त सैनिक र तिनका परिवारलाई विभिन्न क्षेत्रमा नेपाली सेनाले सघाउ पुर्याउँदै आएको छ । तर, अहिले पनि अवकास प्राप्त सैनिक तथा तिनका परिवारले यो कोषबाट पर्याप्त लाभ र पहुँच पुर्याउन नसकेको गुनासो आइरहेको छ ।
पश्चिम पृतना हेडक्वाटर विजयपुरमा भएको भूपू सैनिक सम्मेलनमा प्रधानसेनापति थापाले कल्याणकारी कोषको मूल पुँजीबाट प्राप्त ब्याज र लगानीबाट प्राप्त हुने प्रतिफल भूपू सैनिकको कल्याणकारी काममा खर्च हुँदै आएकाले सहभागी हुन आग्रहसमेत गरे ।
गण्डकी प्रदेशका १० जिल्लामा नेपाली सेनाबाट १६ हजार ६ सयभन्दा बढी अवकास प्राप्त सैनिक रहेको तथ्यांक पश्चिम पृतना हेडक्वाटर विजयपुरसँग छ । त्यसमध्ये ९ हजार ७७ जनाले भेलामा सहभागी हुन नाम दर्ता गराएका थिए । भूपू सैनिक र तिनका परिवारमध्ये कति वैदेशिक रोजगारीमा छन्, कति जनाले कस्तो जीवन यापन गरिरहेका छन् भन्ने यकीन छैन ।
सैनिक कल्याणकारी कोषबाट शिक्षा, स्वास्थ्य, रोजगार तालिम र उद्यममा ठूलो लगानी गरिरहेको बताउँदै प्रधानसेनापति थापाले कोषमा पहुँज र दायरा बढाउन दीर्घकालीन सोचसहित सेवा, सुविधा विस्तार गर्दै लगिएको बताए ।
काठमाडौंमा केन्द्रित नहुन आग्रह
भूपू सैनिकका छोराछोरीलाई पायक पर्ने ठाउँमा गुणस्तरीय अध्ययनका लागि विद्यालय खोलिएकाले काठमाडौंमै केन्दि्रत नहुन उनले आग्रह गरे । पोखरामा सैनिक महाविद्यालय भएजस्तै जिल्लाहरुमा पनि सैनिक परिवारका सन्तानलाई अध्ययनको व्यवस्था मिलाइएको र वैदेशिक उच्च शिक्षाका लागि पनि कर्जा प्रवाह भइरहेको उनको भनाइ छ ।
अहिले ७० जिल्लाका २ सय १० वटा उत्कृष्ट विद्यालयसँग सम्झौता गरी पायक पर्ने स्थानमै पढाउन सुरु गरिएको छ । वाषिर्क ३० हजार भूपू सैनिकका छोराछोरी शिक्षाबाट लाभान्वित भइरहेका छन् । कोषबाट विभिन्न संकायमा उच्च शिक्षाका लागि २५ लाख रुपैयाँ शैक्षिक कर्जासमेत प्रदान गरिँदै आएको छ ।
स्वास्थ्य सेवालाई विकेन्दि्रत गर्दै नेपालगञ्ज, पोखरा र इटहरीमा ५०/५० शय्या अस्पताल सुरु भइसकेका छन् । सेवा विस्तारको प्रयाससमेत भइरहेको थापाले बताए । स्थानीय अस्पतालमा भूपू सैनिक र तिनका परिवारलाई उपचार गराउन सकियोस् भनेर पोखराको अस्पतालसँग सम्झौता गर्न अध्ययन भइरहेको उनले जानकारी दिए ।
व्यावसायिक कृषि तथा पशुपालनमा उत्प्रेरित गर्न कृषि फार्मसहित लमजुङको बेंसीसहरमा नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा अध्ययन तथा तालिम लिन पनि थापाले आग्रह गरे ।
पूर्व सैनिक परिवारलाई एक ठाउँबाट अर्को ठाउँमा जाँदा आवासको सुविधाका लागि पोखरामा १४ कोठाको गेस्ट हाउस सञ्चालन गर्ने तयारी भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी २५ लाख रुपैयाँसम्मको कर्जा प्रवाह गरिने थापाको भनाइ छ । अहिलेसम्म ३० हजार ६ सय जनाले उद्यमशीलताका लागि ५ अर्ब ६४ करोडभन्दा बढी कर्जा लिएका छन् ।
प्रधान सेनापतिकै उपस्थितिमा बुधबार पश्चिम पृतना हेडक्वाटरमा भूपू सम्मेलन भएको हो । पोखरामा विजयपुर र फूलबारी ब्यारेकमा सम्मेलन भएको थियो । पृतना अन्तर्गत गण्डकी प्रदेशभित्र मनाङ र मुस्ताङ बाहेकका ७ जिल्लामा पोखराबाट भर्चुअल सम्मेलन गरिएको थियो । नवलपुर भने पृतना हेडक्वाटर बुटवल अन्तर्गत पर्छ ।
गत चैतमै हुनुपर्ने सम्मेलन कोभिडका कारण अहिले भएको बलाधिकृत प्रभुराम शर्माले जानकारी दिए । सम्मेलनमा कल्याणकारी कोषमार्फत दिइरहेका सेवा, सुविधाबारे जानकारी गराइएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका अवकास तथा भूपू सैनिक र तीनका परिवारलाई सम्मानसमेत गरिएको थियो ।