एउटा भनाई छ– सबै परम्परावादी (कन्जर्भेटिभ) मानिसहरू मूर्ख हुँदैनन् तर यो सत्य हो, सबै मूर्खहरू परम्पारवादी हुन्छन्। यो भनाईको अर्थ हो, प्रधानमन्त्री केपी शर्मा ओली मूर्ख परम्परावादी होइनन्, उनलाई यो थाहा थियो कि, मूर्खहरूको ठूलो हिस्सा नेपालमा छ, जसले उनलाई साथ दिनेछ। यसकारण उनी परम्परावादी शक्तिका रुपमा उदयको लय समात्नका निम्ति सत्ताको यो चरमपन्थी खेलमा पुगे। यहाँ पुग्नुमा उनको दृष्टिदोष, सत्ताप्रेम र शक्तिको तिर्खा मात्र होइन। उनी निरन्तर लडिरहेको विपरित विचारधारा र अवसरवादी, नवउदारवादी शैलीको शक्तिलाई त्यो ठाउँमा स्थापित गर्न चहाँदैन थिए।
उनी यसकारण मूर्ख परम्परावादी होइनन् कि भनिदिए– ताजा जनादेशमा जाऔं। सतहको यथार्थलाई उनले राम्रोसँग बुझेका छन्, चुनावमा होमिएको खण्डमा शक्ति संघर्षमा निरन्तर लडाई गर्नुपरेका पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भविष्य सोत्तर हुन सक्छ। यो अस्वभाविक प्रश्न नै होइन। सडकमा देखिएका हिन्दूत्वका विशाल नारा, राजसंस्थाको माग गर्ने ठूलो जमात, गणतन्त्रका नाममा मुलुकमा लुटतन्त्र मच्चाउनेलाई आम जनताले स्वीकार गर्नेछैनन् भन्ने ओली प्रष्ट देख्छन्।
ओलीका भाषण र शासन शैलीले पनि उनी परम्परावादी व्यवाहारका मानिस हुन् भन्ने प्रष्ट छ। यसलाई मिहिन ढंगले सोच्नुपर्ने हुन्छ। उनका भाषणमा आउने उखान टुक्का हुन् या उनले धार्मिक, सांस्कृतिक र नेपाली समाजको मौलिकतामा टेकेर जति भाषणबाजी गरेका छन् यी केही प्रतीत हुने उदाहरण मात्र हुन्। यसले उनको वैचारिक लाइन मात्र होइन, व्यवाहारलाई पनि स्पष्ट झल्काउँछ। यो व्यवाहार भएको मानिस शक्तिमा पुगेका बेला कति ढिट हुन्छ भन्ने उदाहरण अमेरिकी चुनावमा डोनल्ड ट्रम्पको पराजयपछिका घटनाक्रमलाई हेरे हुन्छ। ट्रम्प परम्परावादी शक्ति हुन्। त्यसैले ओलीले प्रधानमन्त्रीको कुर्सीलाई जुन जुन भाषामा व्याख्या गरिदिए, त्यो भन्दा पनि महत्वपूर्ण उनी प्रतिनिधि सभा विघटनको अस्त्रसम्म पुगे।
तर, यो अवस्था कसरी आयो? ओलीको चरित्र र प्रवित्तिको उपज मात्र थियो? कि प्रगतिशील राजनीतिको खुड्किलो समातेर उपल्लो तहमा पुगेका प्रचण्डको शक्तिमा पुग्ने आशक्ति र भोकको षडयन्त्र पनि थियो? के ओलीलाई ५ बर्षका लागि सत्ता चलाउन दिएर घेराबन्दी नगरेको भए, पार्टी नेतृत्वको शीर्ष स्थानमा रजगज गर्ने प्रचण्डको डरलाग्दो प्रवित्ति यसमा दोषी छैन? बाटो फरक भए पनि परम्परावादी शक्तिको अझ ठूलो उदाहरण त प्रचण्ड हुन्। जसले सरकार गिराउने र बनाउने खेल, पार्टी भत्काउने र बनाउने खेललाई निरन्तरता दिएर शीर्ष स्थानमा आफूलाई राखीरहे। अहिले विभाजन भइ नै सकेको नेकपा भनिने शक्तिको पहिलो अध्यक्ष र त्यसैको जगमा संसदीय दलको नेता र प्रधानमन्त्रीका उम्मेदवारमा आफूलाई नै केन्द्रविन्दुमा प्रचण्डले किन राखे?
यदि उनलाई एकीकृत कम्युनिस्ट पार्टीको माया लागेको र त्यसले जनताको पुर्नोत्थान गर्ने विश्वास भएको भए नेतृत्वको केन्द्रमा पहिलो आफूलाई किन राख्थे? राजनीतिमा उनले कहाँनेर त्यागको भावना देखाएका थिए र मोहन वैद्य, बाबुराम भट्टराईहरु नेतृत्वमा पुगेका थिए? हेटौंडाको राष्ट्रिय सम्मेलनमा अन्यलाई उम्मेदवार बन्न दिए? युद्धकालको कुरा त छाडिदिऔं। यो लडाँई राज्यशक्ति दुरुपयोग र सत्तामा आफूलाई केन्द्रमा राख्ने खेल, अझ षडयन्त्रको उपजको परिणाम होइन र?
यी साधारण प्रश्न होइनन्। प्रचण्डलाई युगौंसम्म सोधिने र चिमोट्ने चिज हुन्। नेपालीका सन्तानलाई, परिवारलाई वियोगान्तको शिकार बनाएर निजी परिवारलाई सत्तारोहणका अनेक केन्द्रमा उनले दुरुपयोगमार्फत पुराएका होइनन्? समग्र राजनीतिक अवस्थितिमा यो प्रश्न केही गौण होला, मृत त हुँदै हुँदैन।
भूमीगत कालमा नै गोरखाको चुङवाङ बैठकमा प्रचण्डले दिएको प्रशिक्षण अथवा भाषणका बेला भनेको एउटा लाइनले घचघच्यायो। उनले भनेका थिए, ‘मलाई अहिले नै राजीनामा दिउँ जस्तो लागेको थियो। तर यो उत्साह देखेपछि अब म संघर्षको मैदानमा उत्रिनुपर्छ भन्ने लाग्यो।’
भोलीका दिनमा माधव नेपाल र झलनाथ खनालको शक्ति सन्तुलनसँग उनको खेल चल्नेछ, अन्ततः फेरि विभाजन नै हो। त्यसो त नहोस् तर घेराबन्दी गर्ने प्रचण्डको राजनीतिक आकांक्षा र शक्तिमा रहने असीमित महत्वकांक्षा अहिलेको संसद विघटनको परोक्ष र मुख्य कारण हो
अनि ओलीले बारम्बार दिएको अभिव्यक्तिलाई पनि संश्लेषण गरेर बुझ्न आवश्यक छ। उनले अहिले पनि बारम्बार भनिरहन्छन्,‘३२ बर्षसम्म अध्यक्ष भएको मानिसलाई फेरि किन नेतृत्व चाहियो? दुई पटक र प्रधानमन्त्री भइसकेका मानिसलाई किन पद चाहियो?’
यो ह्याङगोभर नहोस् कसैलाई। प्रचण्डले एकताको कार्ड ओलीको सत्तारोहणको स्वार्थको प्रवित्तिलाई बुझेर गरेका थिए। जनमतमा शून्य हुन लागेको आफ्नो राजनीतिक विरासतलाई जोगाउने एउटा खेल थियो भने अर्कोचाहिँ संगठित पार्टीको ठूलो हिस्सामा ठालू बन्ने अभियान थियो। एकीकरणका बेला नै प्रश्न खड्किएको थियो– प्रचण्डले किन खड्गप्रसादको दोस्रो बरियतालाई स्वीकार गरेका थिए? प्रचण्ड सँधै दुईवटा विकल्पको खेलमा लाग्छन्। पहिलो सर्वशक्तिमान नेतृत्व, अर्को दुई लाइन संघर्ष। उनलाई यो पनि थाहा छ यस्तो संघर्षका क्रममा संक्रमण र मुठभेड हुन्छ। प्रचण्ड मुठभेडसँग आत्तिने पात्र र प्रवित्ति होइनन्। जसले मुलुकमा गृहयुद्धको राजनीतिलाई उठायो, उसलाई शान्तिपूर्ण राजनीतिमा हुने साधारण आन्दोलन र मुठभेड नौलो चिज होइन।
शान्ति प्रक्रियामा आएपछि पनि अर्धसैनिक बल योङ कम्युनिस्ट लिगको सामाजिक आतंकमा प्रचण्ड रमाएका होइनन् र? त्यसको प्रतिरोध पो ओलीको नेतृत्वमा भयो। जब बुटबलमा प्रचण्ड थैव भन्ने तत्कालिन एमाले कार्यकर्ताको हत्या भयो, को–को छन् त्यसको साक्षी? ओलीले वाएसीएलको प्रतिरोधका लागि महेश बस्नेतको नेतृत्वमा युथ फोर्स गठन गरी भिडन्त गराएका होइनन्?
बारम्बार टकराब परिरहने व्यक्ति चरित्र र पात्रसँग प्रचण्डको सम्झौता वैचारिक थियो की अवसरको थियो? जहिले पनि उनको राजनीतिक वा अराजनीतिक कमदमाथि शाव्दिक, भौतिक प्रहार गरेर उदय भएको ओलीसँग उनको सम्झौताको मुख्य लक्ष्य के थियो? समाजवाद स्थापना? कि सत्तावादको खेल?
अहिले पनि प्रचण्ड सत्ताका लागि समीकरणमा मिलेका मानिस हुन्। जुन प्रवित्तिविरुद्ध उनले नौ महिनामा नै प्रधानमन्त्रीको कुर्सी त्यागेर सडकमा जानुपरेको थियो, उसँगको सहकार्य लामो समयसम्म टिक्न सक्ला? कहिले पनि सक्तैन। मलाई स्मरण छ, पहिलो पल्ट खुलामञ्चमा उनले भाषण गरेका थिए– कि यो देशमा बुद्ध चाहिन्छ कि जंगबहादुर। अनि मात्र परिवर्तन सम्भव हुन्छ। खयर, उनका बैठक कोठामा अनेकौं बुद्धका तस्बिर र प्रतिमा छन् तर राजनीतिमा ओलीले उनलाई जंगबहादुरको स्वाद त चखाईदिए नि!
प्रतिनिधि सभालाई खसीको टाउको बाख्राको मासु बनाइएको थियो। सांस्कृतिक र नैतिक विचलन भएका कृष्णबहादुर महरालाई मोहराको रुपमा प्रचण्डले सदनको मुखिया त बनाए, ओलीले उनलाई खोरतिर पठाए। त्यसपछि अर्को बफादार मुखिया अग्नी सापकोटालाई बनाए, शक्तिमा रहीरहे केही समयमा उनलाई पनि आपराधिक मुद्दामा ओलीले जेल पठाउने नै छन्, यसमा दुईमत छैन। यो सम्झौताको राजनीति र सम्झौता सकिएपछि प्रतिशोधको कथा बनिरहेको छ।
सम्झौता प्रचण्डले तोडेका हुन्। मुलुकको कार्यकारी अधिकार दिएपछि उनलाई नियन्त्रित राख्नु कति सम्भव हुन सक्छ? त्यहाँमाथि ओली नियन्त्रित हुने पात्र थिए त? हिजो तत्कालिन एमालेभित्र पनि उनलाई नियन्त्रण गर्न कसैले सकेनन् बरु स्पर्धा गर्नुपर्ने बेला आयो। सबै अनेक ठाउँमा पराजित हुँदै गए। संसदीय दलको नेताका लागि अघिल्लो पटक झलनाथ खनाल पराजित भए, महाधिवेशनमा माधव नेपाल पराजित भए। उनलाई घेराबन्दी गर्न कसले सकेको थियो?
प्रचण्डले प्रधानमन्त्रीको पद त सुम्पिए तर त्यसलाई नियन्त्रणमा राख्न खोज्दा संसद विघटनको परिघटना आयो। कार्यकारी अधिकार पाएको व्यक्तिले नै हो सबैतिर नियुक्ति र टिम बनाउने जसले फटाफट स्पिरिटमा काम गरिदियोस्। तर, प्रचण्डले काम गर्न दिए? राज्यका संयन्त्रमा जब आँखा पर्दछ, राजनीतिको मर्म र देशको यात्राले यस्तै भड्खालो रोज्दछ। अहिले जुन समीकरणमा प्रचण्डको राजनीतिक यात्रा चलेको छ यो पनि लामो समयसम्म टिक्नेवाला छैन। भोलीका दिनमा माधव नेपाल र झलनाथ खनालको शक्ति सन्तुलनसँग उनको खेल चल्नेछ, अन्ततः फेरि विभाजन नै हो। त्यसो त नहोस् तर घेराबन्दी गर्ने प्रचण्डको राजनीतिक आकांक्षा र शक्तिमा रहने असीमित महत्वकांक्षा अहिलेको संसद विघटनको परोक्ष र मुख्य कारण हो। यो नियतीलाई रोज्ने ओलीको निर्णय अलोकतान्त्रिक त छँदै छ।