जनकपुरधाम : ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले सोमवार प्रदेश २ मा एकैपटक ४५ आधारभूत अस्पतालको शिलान्यास भएको छ भने अझै ८ वटा शिलान्यासको तयारी छ । ५, १० र १५ शय्याका अस्पताल शिलान्यास गरिएको छ ।
सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’ भनेको छ । तर भएका सरकारी तथा गैरसरकारी अस्पतालमा सेवा विस्तार, भवन जिर्नोधार र जनशक्ति परिवुर्ती गर्नुको साटो सरकारले फेरि नयाँ अस्पताल मात्र शिलान्यास गरेपछि आलोचना सुरु भएको छ ।
प्रदेश २ मा निजी तथा सरकारी अस्पतालको संख्या निकै भएपनि जनशक्ति, उपकरण र पूर्वाधार नहुँदा यहाँका बासिन्दा उपचारका लागि बाहिरकै भर पर्न बाध्य छन्। बेलैमा उपचार नपाउँदा कतिपयले ज्यानसमेत गुमाउनुपरिरहेको छ। तर त्यसतर्फ सरकारले कुनै चासो देखाएको छैन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार साढे ६१ लाख प्रक्षेपित जनसंख्या रहेको यो प्रदेशमा १३ सरकारी अस्पताल, दुई मेडिकल कलेज र ६० वटाजति निजी अस्पताल छन्। तर प्रदेशको जनसंख्या तथा अस्पतालको संख्याको अनुपातमा चिकित्सक, प्राविधिक र उपकरण एकदमै कम छन्। यसले बिरामीलाई समस्या त भएकै छ, चिकित्सकलाई पनि अत्यधिक चाप र दबाब परेको छ।
मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार प्रदेशमा १३ सय शैय्याको सरकारी, करिब ३ हजार शैय्याको निजी र १५ सय ५० बेड क्षमताको शिक्षण अस्पताल छन्। तर अस्पतालमा रोगअनुसारका विशेषज्ञको अभाव मात्र होइन, बिरामीको चापअनुसार चिकिसत्क, प्राविधिक र उपकरणसमेत न्यून रहेको महाशाखाको तथ्यांकले देखाउँछ। आँखाबाहेक कुनै विशेष रोगको एउटै अस्पताल नरहेको प्रदेश २ मा जटिल रोग, शल्यक्रिया र नमुना परीक्षणका लागि अझै विराटनगर, धरान, भरतपुर र काठमाडौंकै भर पर्नुपरेको छ।
प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. जामुन सिंहका अनुसार प्रदेश २ मा जटिल दुर्घटना, हृदयाघात र १ महिनादेखि १४ वर्षसम्मका बालबालिकाका लागि आइसियु नभएकाले कतिपयले अन्यत्र जाँदाजाँदै अकालमै ज्यान गुमाउनुपरेको छ। प्रदेशभरका अस्पतालमा बिरामीको चाप उच्च रहे पनि उपकरण र चिकित्सकको धेरै पुरानो दरबन्दीअनुसार जनशक्ति रहेका कारण समेत उपचारमा कठिनाइ भएको उनी बताउँछन्।
४० वर्षअघिकै दरबन्दी पनि रिक्त
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार करिब ४० वर्षअघिकै चिकित्सक, प्राविधिक तथा कर्मचारीको दरबन्दीअनुसार प्रदेशभरका सबै सरकारी अस्पताल सञ्चालन भइरहेका छन्। प्रादेशिक अस्पताल जनकपुरमा २०३० सालअघिको चिकित्सकको दरबन्दी १ सय ४६ जना रहेकामा सरकारले ९५ जना मात्र खटाएपछि विकास समितिमार्फत चिकित्सकसहित १ सय ६० कर्मचारी भर्ना गरी अस्पताल चलाइएको छ। पुरानो दरबन्दीले बिरामीको चाप थेग्न नसक्ने अवस्था आएपछि अस्पताल विकास समितिबाट चिकित्सक थपेर अस्पताल सञ्चालन गरिएको हो।
सर्लाहीको मलंगवास्थित जिल्ला अस्पतालमा चिकित्सक, प्राविधिक तथा अन्यसहित ३५ कर्मचारीको दरबन्दी रहेकामा १२ जना मात्र कार्यरत छन्। प्रशासनिकतर्फ पनि ५१ कर्मचारीको दरबन्दी रहेकामा २० जना मात्र कार्यरत छन्।
रौतहटको गौरस्थित जिल्ला अस्पतालमा ५२ जनाको दरबन्दी छ। तर चिकित्सक, प्राविधिक र अन्य कर्मचारीसहित २४ जनालाई मात्र खटाइएपछि विकास समितिमार्फत थप १५ कर्मचारी भर्ना गरिएको छ। महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा २७ कर्मचारीको दरबन्दी रहेकामा १८ जना मात्र कार्यरत छन्।
सप्तरीको राजविराजस्थित गजेन्द्र नरायणसिंह सगरमाथा अञ्चल अस्पतालमा १ सय १ कर्मचारीको दरबन्दी रहेकामा ५० जना मात्र कार्यरत छन्। सप्तरीकै भारदह अस्पतालमा २० कर्मचारीको दरबन्दी रहेकामा १५ जना मात्र कार्यरत छन्। यसैगरी सिरहा जिल्ला अस्पतालमा ५८ कर्मचारीको दरबन्दी रहेकामा २८ जना मात्र कार्यरत छन्। सिरहाकै लहान अस्पतालमा २९ कर्मचारीको दरबन्दी रहेकामा मात्र २१ जना कार्यरत रहेकोे निर्देशनालयको तथ्यांकमा उल्लेख छ। बाराको कलैयास्थित जिल्ला अस्पतालमा ३७ कर्मचारीको दरबन्दी रहेकामा २१ जना मात्र कार्यरत छन्। यस्तै प्रशासनिकतर्फ पनि ५८ कर्मचारीको दरबन्दी रहेकामा २६ जना मात्र छन्। पर्साको पोखरिया अस्पतालमा २४ कर्मचारीको दरबन्दी रहेकामा १९ जना मात्र कार्यरत छन्।
कस्ता चिकित्सक कति ?
मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार प्रदेश २ का १३ वटै सरकारी अस्पतालमा कूल ७० जना मात्र कन्सल्टयान्ट फिजिसियन छन्। जसमध्ये प्रादेशिक अस्पताल (जनकपुर) मा २१, नारायणी क्षेत्रीय अस्पताल (वीरगन्ज) मा २२, सगरमाथा अस्पताल (राजविराज) मा १३, सिरहा अस्पतालमा १, लहान अस्पतालमा १, जलेश्वर अस्पतालमा १, बर्दिबास अस्पतालमा १, कलैया अस्पतालमा ४, गौर र मंलगवा अस्पतालमा ३÷३ जना छन्। पोखरिया, भारदह र चन्द्रनिगाहपुर अस्पतालमा कन्सलटयान्ट फिजिसिन नै छैनन्। आठै जिल्लाका १३ सरकारी अस्पतालमध्ये प्रादेशिक अस्पतालमा २, नारायणी र सगरमाथा अस्पतालमा १÷१ एनेस्थिेसियोलजिस्ट मात्र छन्।
नौ अस्पतालमा उपचारका क्रममा अन्य चिकित्सकले नै बिरामीलाई बेहोस बनाउने गरेका छन्। प्रादेशिक अस्पतालमा दुई जनाबाहेक प्रदेश २ का कुनै सरकारी अस्पतालमा प्याथोलजिस्ट नै छैनन्। प्रादेशिक अस्पताल (जनकपुर) मा १ जनाबाहेक माइक्रोबायोलजिस्ट/भाइरोलजिस्टसमेत छैनन्। प्रदेशका आठै जिल्लाका सरकारी अस्पतालमा १ सय २८ जना मात्र मेडिकल अधिकृत छन्।
जसमध्ये प्रादेशिक अस्पतालमा ४९, नारायणीमा १९, पोखरियामा २, सगरमाथामा १४, भारदहमा १, सिरहामा ७, लाहानमा ४, जलेश्वरमा ६ बर्दिबासमा २, मलंगवामा ९, गौरमा ४, चन्द्रनिगाहपुरमा ३ र कलैया अस्पतालमा ८ जना छन्। यस्तै प्रादेशिक अस्पतालमा २, नारायणीमा २, सगरमाथामा २ र कलैयामा १ गरी प्रदेशभरका सरकारी अस्पतालमा ७ जना मात्र नर्सिङ अधिकृत छन्। यस्तै प्रदेशका सरकारी अस्पतालमा १६ जना दन्त विशेषज्ञ छन्।
प्रादेशिक अस्पतालमा ७, गौरमा ३, मलंगवा र सगरमाथामा २÷२ र कलैया, नारायणी अस्पतालमा १÷१ जना छन्। यस्तै प्रादेशिक अस्पतालमा ५ जनाबाहेक अन्य कुनै अस्पतालमा नर्सिङ इन्सटक्टर छैनन्। यसैगरी प्रदेशका सरकारी अस्पतालमा १ सय ४२ जना स्टाफ नर्स छन्। जसमध्ये प्रादेशिक अस्पतालमा ५१, नारायणीमा २९, सगरमाथामा २७, पोखरियामा १, भारदहमा २, सिरहामा ५, लाहानमा ३, जलेश्वरमा १, बर्दिबासमा ३, मंलगवामा ९, गौरमा १, चन्द्रनिगाहपुरमा ४ र कलैया अस्पतालमा ६ जना रहेको स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ। यस्तै प्रदेशका आठै जिल्लाका सरकारी अस्पतालमा गरी एनेस्थेसिया एसिस्टेन्ट ९, अनमी ९३, एचए ३२, अहेब ८७, रेडियोग्राफर १७, डार्क रुम असिस्टेन्ट १२, ल्याब टेक्नोलजिस्ट ५, ल्याब टेक्निसियन २९, ल्याब असिस्टेन्ट २५, बायोमेडिकल टेक्निसियन १ र मेडिकल रेकर्डर ८ जना मात्र छन्।
यस्तै सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले दिएको तथ्यांकअनुसार आठै जिल्लाका निजी अस्पतालमा १ सय २३ कन्सल्ट्यान्ट फिजिसियन, ११ एनेस्थेसियालजिस्ट, ३ प्याथोलजिस्ट, ५ माइक्रोबायोलजिस्ट, १ सय ३१ मेडिकल अधिकृत, २१ नर्सिङ अधिकृत, ५ डेन्टल सर्जन, नर्सिङ इन्सटक्टर १२, स्टाफ नर्स २ सय १७, एनेस्थेसिया असिस्टेन्ट १३, अनमी १ सय ८५, एचए १ सय ६६, अहेब १ सय ७८, रेडियो ग्राफर ४१ , १३ डार्क रुम असिस्टेन्ट, ल्याब टेक्नोलजिस्ट २६, ल्याब टेक्निसियन ४९, ल्याब असिस्टेन्ट ७७ र मेडिकल रेकर्डर १४ मात्र छन्।
छैनन् उपकरण
प्रदेश २ का सरकारी अस्पतालमा मात्र नभई निजी अस्पतालमा समेत पर्याप्त उपकरण र चिकित्सक नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता छ। प्रदेश २ मा आँखाको बाहेक अन्य रोगको उपचार गर्ने कुनै विशेष अस्पताल छैन।
रेडक्रस र अन्तर्राष्ट्रिय सहयोगबाट सिरहाको लहान र जनकपुरमा आँखाको उपचार भइरहेको छ। त्यसबाहेक प्रदेश २ सहिद गंगालाल अस्पतालको शाखाका रूपमा जनकपुरमा अवस्थित अस्पतालमा मुटु रोगको सामान्य उपचार मात्र भइरहेको छ। प्रदेशमा मुटु, फोक्सो, मिर्गाैला, मस्तिष्कलगायतको शल्यक्रिया, हृदयाघात, क्यान्सरलगायत रोगको समयमै उपचार हुन नसक्दा कतिपयले ज्यान गुमाउनुपरेको छ। निजी र सरकारी क्षेत्रका गरी ३ हजारभन्दा बढी बेड क्षमता भएका प्रदेश २ का अस्पतालमा मात्र १ सय ५० आइसियु छन्। जसमध्ये प्रादेशिक अस्पताल (जनकपुर) मा १० र नारायणी अस्पतालम (वीरगन्ज) मा ५ गरी सरकारी अस्पतालमा १५ वटा मात्र आइसियु बेड छन्।
यस्तै नेसनल मेडिकल कलेज (वीरगन्ज) मा २६, जानकी मेडिकल कलेज (रमदैया) मा १०, फूलकुमारी मेमोरियल हस्पिटल (सिरहा) मा ४, आरके मेडिसिटी (सिरहा) मा ५, वीरगन्जमा रहेका नारायणी बयोधा हस्पिटलमा १२, गण्डक हस्पिटलमा ८, वीरगन्ज हेल्थ केयर हस्पिटलमा १०, तराई हस्पिटल एन्ड रिर्सच सेन्टरमा १०, श्री भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा ५, एलएस जेनरल एन्ड न्युरो हस्टिलमा ११, प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरमा ४, श्री एडभान्स मेडिकेयर हस्पिटलमा ३, नेपाल इन्डो हस्पिटल एन्ड आइ सेन्टरमा ९, जनकपुरस्थित जानकी हेल्थ केयर एन्ड रिसर्च सेन्टर, रामजानकी, काव्या र धनुषा हस्प्टिलमा ६÷६ वटा आइसियु बेड छन्। प्रदेशका सरकारी अस्पतालमा ७ वटा मात्र भेन्टिलेटर कक्ष छन्। जसमध्ये नारायणी अस्पतालमा १, सगरमाथामा ४ र प्रादेशिक अस्पतालमा २ वटा छन्। यस्तै नेसनल मेडिकल कलेज (वीरगन्ज) मा ३० र जानकी मेडिकल कलेजमा ३ वटा भेन्टिलेटर छन्।
फूलकुमारी मेमोरियल हस्पिटल, आरके मेडिसिटी, श्री भवानी हस्पिटल एन्ड रिसर्च सेन्टर र नेपाल इन्डो हस्पिटल एन्ड आइ सेन्टरमा १÷१, युनिक हस्पिटल राजविराज, गण्डक हस्पिटल, प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर (वीरगन्ज), जानकी हेल्थ केयर एन्ड रिसर्च सेन्टर र काव्या हस्पिटलमा २÷२, वीरगन्ज हेल्थ केयर हस्पिटल र तराई हस्पिटल एन्ड रिसर्च सेन्टरमा ३÷३, नारायणी बयोधा हस्पिटल र एलएस न्युरो एन्ड न्युरो हस्पिटलमा ४÷४ गरी प्रदेशमा जम्मा ६९ भेन्टिलेटर छन्। यस्तै स्वास्थ्य महाशाखाका अनुसार प्रदेशभरमा एउटा पनि अक्सिजन प्लान्ट छैन।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा दिनहुँ हजारभन्दा बढीको संख्यामा बिरामी आउने गर्छन्। अस्पतालमा कम्तीमा तीनवटा पोर्टेबल एक्सरे मेसिन आवश्यक छ, तर एउटा मात्र डिआर एक्सरे मेसिन छ। त्यो पनि अहिलेसम्म त्यो, विकास समितिबाट करारमा राखिएका ४ जना सहायक रेडियोलजिस्टका भरमा चलिरहेको छ। यस्तै चौबीसै घण्टा सिटिस्क्यान एउटै मेसिनले थेगिरहेको छ। त्यही सञ्चालन गर्न पनि लागि तालिमप्राप्त कर्मचारीसमेत नभएको अस्पतालले जनाएको छ।
रेडियोग्राफरको दरबन्दी नै सिर्जना नभएकाले कर्मचारी व्यवस्थापनमै अस्पताललाई समस्या परेको बताइएको छ। अस्पतालका कम्तीमा चार जना सिटिस्क्यान रेडियोग्राफर आवश्यक छ। अस्पतालमा हालसम्म एउटा मात्र युएसजी सञ्चालन छ।
बाहिरंग, अतरंग, आकस्मिक, प्रयोगशाला, इसिजी, अल्ट्रासोनोग्राफी सेवा, सिटिस्क्यान, सुरक्षित मातृत्व, परिवार नियोजन, क्षयरोग नियन्त्रण, एआरभी, एचटिसी, एरटिभी, पोषण पुनस्र्थापना, खोप, रक्तसञ्चार, शल्यक्रिया, फार्मेसी, आइसियु, एनआइसियु, डाइलाइसिस र दन्त उपचार गरी २२ प्रकारका सेवा प्रादेशिक अस्पतालले प्रदान गरिरहेको छ। अस्पतालमा आइसियु, एनआइसियु र पिडियाट्रिक वार्डमा क्रमश ः ८, ११ तथा २१ बेड मात्र छन्। यो संख्या आवश्यकताभन्दा निकै न्यून भएकाले बिरामीलाई भर्नै नगरी फर्काउनुपरेको चिकित्सक बताउँछन्।
‘प्रदेशमा कतै पनि १ महिनादेखि १४ वर्षसम्मका बालबालिकाका लागि पिडियाट्रियक आइसीयु नहुँदा ती उमेरका बिरामीलाई धरान र विराटनगर पठाउनुपर्ने बाध्यता छ। कतिको त जाँदाजाँदै बाटामै प्राण जान्छ,’ अस्पतालका बालरोग विशेषज्ञ डा. जामुन सिंहले भने।
उनका अनुसार प्रदेशमै सबैभन्दा धेरै सर्जनको अभाव छ। ‘न सर्जन टिम छ। न अप्रेसन थिएटर न पोस्ट अपरेटिभ वार्ड। कुनै रोगको विशेषज्ञसमेत भेटिन मुस्किल छ,’ सिंहले थपे। यस्तै बिरामीको चाप उच्च भए पनि उपकरण र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.मदन उपाध्यायले बताए। उनका अनुसार दरबन्दी रहेका १ सय २९ जनामध्ये ६० प्रतिशत मात्र चिकित्सक, प्राविधिक तथा प्रशासनिक कर्मचारी छन्।