धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले प्रदेश सांसद र मन्त्रीका स्वकीय सचिव कटौती नगर्ने सर्वदलीय सम्झौता गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले उक्त सम्झौता गरेको हो।
खर्च कटौतीका सन्दर्भमा प्रदेश सांसद र मन्त्रीका स्वकीय सचिवालय खारेजी तथा कटौतीको निर्णयसहित संघीय सरकारले दिएको निर्देशनप्रति प्रदेशहरूले असन्तुष्टि जनाउँदै आएकोमा सुदूरपश्चिम सरकारले उक्त सम्झौता गरेको छ।
मंगलबार अर्थ मन्त्रालयले ‘प्रदेशका सबै काम प्रदेश र संघीय कानुनबमोजिम हुने’ भन्ने पत्र पठाएपछि सुदूरपश्चिममा सर्वदलीय बैठकद्वारा उक्त निर्णय गरिएको एको सांसदले बताए। प्रदेशका कामहरू प्रदेश कानुनबमोजिम कार्यान्वयन गर्ने कुरा भएको सभामुख भीमबहादुर भण्डारीले बताएका छन्।
बैठकमा मुख्यमन्त्री शाह, सभामुख भीमबहादुर भण्डारी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, माओवादी केन्द्रका नेता अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामी, राप्रपा सांसद खिमादेवी बिष्ट र कांग्रेस सांसद पदमबहादुर शाही उपस्थित थिए।
