फणीन्द्र दाहाल
बीबीसी न्यूज नेपाली
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दै छन् तर त्यहाँ उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्ने भनिएको भेटवार्तालाई लिएर अन्योल कायम छ।
अधिकारीहरूले दुवै देशका प्रधानमन्त्रीहरूले ‘समिट अफ द फ्यूचर’मा सम्बोधन गर्ने र त्यसैआसपास पारेर भेटवार्ता गर्नका लागि समय प्रस्ताव गरिएको भए पनि अन्तिम टुङ्गो लागिनसकेको जनाएका छन्।
दुई महिनाअघि सत्ताको नेतृत्वमा आएका ओलीको यो पहिलो विदेश भ्रमण हो।
चौथो पटक संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न गइरहेका ओलीले भारतीय नेतृत्वसँग आफ्नो सरकारको संवाद विस्तार गर्ने मौकाका रूपमा यो यात्रालाई बदल्न खोजेको देखिन्छ।
तर एक पूर्वपरराष्ट्रमन्त्रीले भारतीय प्रधानमन्त्रीसँगको भेटलाई यति “अपहत्ते गर्नु”लाई अस्वाभाविक भन्दै नेपाल-भारत सम्बन्धमा केही अन्योल देखा परेको टिप्पणी गरेका छन्।
ओली र मोदीका कार्यक्रम
शुक्रवार संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्ने प्रधानमन्त्री ओलीले ‘समिट अफ द फ्यूचर’ नामक सम्मेलनलाई सेप्टेम्बर २२ मा अर्थात् आइतवार सम्बोधन गर्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा अर्थात् आगामी साताको बिहीवार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
सेप्टेम्बर २४ बाट सुरु हुने महासभाको उद्घाटन सत्रमा भाग लिने प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडनले विश्व नेताहरूका लागि आयोजना गर्ने भोजमा पनि सहभागिता जनाउने छन्।
उता ‘क्वाड’ नाक चारदेशीय एक सञ्जालका नेताहरूको शिखर बैठकमा भाग लिन डेलवेअर जान लागेका भारतीय प्रधानमन्त्री मोदीले सेप्टेम्बर २१ मा उक्त सम्मेलनमा भाग लिने र सेप्टेम्बर २२ मा न्यूयोर्कमा भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ।
उनले सेप्टेम्बर २३ मा ‘समिट अफ द फ्यूचर’ मा सम्बोधन गर्ने र त्यसको छेक पारेर विश्व नेताहरूसँग आपसी हितका विषयमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
बीबीसीले थाहा पाएअनुसार दुवै नेताबीच सेप्टेम्बर २२ अर्थात् आइतवार साँझ भेटवार्ताको समय प्रस्ताव गरिएको भए पनि ‘अन्तिम टुङ्गो’ लाग्न बाँकी नै छ।
प्रधानमन्त्रीले राष्ट्रसङ्घका महासचिवसँग भेटवार्ता गर्ने र महासभाको मौका पारेर अन्य विश्व नेताहरूसँग दुईपक्षीय कुराकानी गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
एमालेका विदेश विभाग प्रमुख के भन्छन्
यसअघि उपप्रधान तथा परराष्ट्रमन्त्री रहिसकेका नेकपा एमालेको विदेश विभाग प्रमुख रघुवीर महासेठले यस पटक प्रधानमन्त्री ओलीले नेपालले स्वतन्त्र परराष्ट्र नीतिअनुरूप सबैसँग मित्रतापूर्ण व्यवहार गर्ने सन्देश संयुक्त राष्ट्रसङ्घबाट दिने बताए।
उनले भने, “यसपालिको हाम्रो प्राथमिकता के छ भने, जुन हाम्रा ‘पडोसी’ मुलुकहरूलाई लागिरहेको छ कि हाम्रो अनुकूल छ कि छैन, पञ्चशीलको सिद्धान्तका आधारमा सबैसँग मित्रतापूर्ण व्यवहार हामीले गर्छौँ, चीन र भारतलाई हेर्ने हाम्रो दृष्टिकोण समान छ, त्यसमा तलमाथि छैन हामी त्यो देखाउँछौँ।”
उनले जलवायु परिवर्तनले नेपालमा पारिरहेको प्रभावबारे राष्ट्रसङ्घमार्फत् जानकारी गराउने प्रधानमन्त्री ओलीले भारत, चीन, अमेरिका र यूकेजस्ता मित्रराष्ट्रका नेताहरूसँग भेटवार्ताका लागि प्रयत्न गर्ने जनाए।
प्रधानमन्त्रीका रूपमा ओलीले शपथग्रहण गरेपछि भारतीय प्रधानमन्त्री मोदीले उनलाई बधाई दिँदै दुई देशबीचको हार्दिकतापूर्ण सम्बन्धलाई बलियो बनाउन मिलेर काम गर्न इच्छुक रहेको बताएका थिए।
गएको महिना नेपाल आएका भारतीय विदेशसचिवमार्फत् ओलीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
अगस्टको तेस्रो साता दिल्ली पुगेकी नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेकी थिइन्।
त्यसक्रममा उनले नेपालका प्रधानमन्त्रीले दिएको काठमाण्डू भ्रमणको निम्तो हस्तान्तरण गरेकामा मोदीले त्यसलाई स्विकार्दै कूटनीतिक माध्यमबाट उपयुक्त मितिमा भ्रमण हुने जवाफ दिएको भारतीय विदेश मन्त्रालयले जनाएको थियो।
नेपाल-भारत सम्बन्ध कस्तो छ?
नयाँ संविधान जारी भएपछि दिल्लीले काठमाण्डूमा लगाएको ‘अघोषित नाकाबन्दी’ र कालापानी क्षेत्र समेटिएको नक्सा भारतले प्रकाशित गरेपछि लिम्पियाधुरा क्षेत्रसमेत समेटेर नेपालले नक्सा जारी गर्दा सरकारको नेतृत्व गरेका ओलीलाई भारतमा कतिपयले चीन पक्षधर नेताका रूपमा समेत प्रस्तुत गर्ने गरेको पाइन्छ।
त्यसलाई अस्वीकार गर्ने गरेका ओलीले आफू ‘असल छिमेक सम्बन्ध’को पक्षमा रहेको बताउने गरेका छन्।
कतिपय भारतीय विश्लेषकहरूले यसपटक परम्परागत रूपमा नै भारतसँग नजिकको सम्बन्ध भएको नेपाली कांग्रेससँग सत्ताको चाबी रहेकाले ओलीबाट दिल्लीले खासै अप्ठेरो अनुभव नगर्ने धारणा राख्ने गरेको पाइन्छ।
यसै साता आफ्नो न्यूयोर्क भ्रमणबारे सदनलाई जानकारी गराउने क्रममा ओलीले भनेका थिए, “नेपाल असल छिमेक सम्बन्ध राख्न चाहन्छ। छुद्र र जाली छिमेकी होइन। छैन कसैसँग शत्रुता, छ सबैसँग मित्रता भन्ने हाम्रो सोच हुने छ।”
तर विगतमा ओलीले सत्ता सम्हाल्दा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहेका कमल थापा नयाँ गठबन्धन निर्माण भइसकेपछि भारतसँगको सम्बन्धमा ‘अन्योल देखिएको’ ठान्छन्।
उनले भने, “योभन्दा अघि प्रधानमन्त्री निर्वाचित वा नियुक्त हुनेबित्तिकै टेलिफोनबाटै त्यहाँका प्रधानमन्त्रीले बधाई दिने प्रचलन थियो, यस पटक त्यो देखिएन। सरकार गठन भइसकेपछि चाँडोभन्दा चाँडो भारत आउन निम्तो दिने चलन थियो, त्यो पनि अहिलेसम्म प्राप्त भएको छैन। बाहिरबाट हेर्दा यी सबै घटनाबाट सरकार परिवर्तनप्रति (भारत) उत्साहित भएको देखिदैँन।”
भारतका कतिपय अधिकारीसँगको आफ्नो कुराकानी उद्धृत गर्दै थापाले नेपालमा बारम्बार भइरहेका सरकार परिवर्तनका घटनाका कारण दिल्लीले ‘गठबन्धन कस्तो बन्यो भन्दा पनि जो सत्तामा आयो ऊसँग सामान्य ढङ्गले व्यवहार गर्ने’ र उसले ‘कसरी भारतसँगको सम्बन्ध अघि बढाउन चाहन्छ, त्यो हेरेर अघि बढ्ने’ नीति लिएको जस्तो देखिएको उल्लेख गरे।
उनी भन्छन्, “त्यसबाट नै एक किसिमको चिसो प्रतिक्रिया देखिन्छ। प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार ‘भारतसँग राम्रो सम्बन्ध राख्न चाहन्छ। विगतका कमीकमजोरी सच्याएर नयाँ ढङ्गले अघि बढ्न चाहन्छ। यो सरकार परिवर्तन नेपालको राजनीतिक प्रणालीअन्तर्गत भइरहने कुरा हुन्। सम्बन्ध हामी राख्न राख्न चाहन्छौँ’ भनेर (भारतलाई भन्न) खोजिरहनुभएको छ।”
मोदीसँग भेटघाट मिलाउन भइरहेका प्रयासलाई कसरी हेर्ने?
पूर्वपरराष्ट्रमन्त्री थापा भारतका प्रधानमन्त्रीसँग न्यूयोर्कमा भेटवार्ता मिलाउनका लागि नेपाल सरकारले अहिले गरिरहेको प्रयास ‘अस्वाभाविक’ भएको ठान्छन्।
उनले भने, “दुई प्रधानमन्त्री न्यूयोर्कमा रहँदा जम्मा एक दिनको समय छ। एक दिनको समयमा त्यस्तो ठोस केही कुरा पनि हुन सक्दैन। मोदीको आफ्नै व्यस्त कार्यतालिका छ। त्यसमा यसरी अपहत्ते गरेको चाहिँ हाम्रो कूटनीतिक क्षेत्रमा अस्वाभाविक जस्तो मैले देखिरहेको छु। अहिले भएन भने फेरि भइहाल्छ। यसरी प्रयास गर्नु आवश्यक नै थिएन।”
थापा भारतीय प्रधानमन्त्रीसँग ‘सौहार्दपूर्ण सम्बन्ध’ बढाउन सरकारले प्रयास गरेको देखिएपनि ‘अपहत्ते गर्दा’ त्यसले नोक्सान पुर्याउन सक्ने सम्भावना औँल्याउँछन्।
तर पूर्वपरराष्ट्रमन्त्री महासेठले सरकारको पहिलो प्राथमिकता राष्ट्रसङ्घको महासभा नै भएको उल्लेख गर्दै त्यहाँ गएको बेला ‘भारत र चीनबाट जाने सरकार प्रमुखहरूसँग भेटघाट हुन सक्यो भने त्यो राम्रो’ हुने प्रतिक्रिया दिए।
भारतलाई आफूहरूले दिन चाहेको सन्देशबारे उनी भन्छन्, “हामी भारतलाई जस्तो हिजो हुनुहुन्थ्यो, आज पनि त्यस्तै हुनुहुन्छ भनेर सन्देश दिन खोजिरहेका छौँ। इतिहासदेखि जस्तो सम्बन्ध थियो, त्यसलाई हामी निरन्तरता दिन चाहन्छौँ। जुन दुईवटा ठूला छिमेकी देशहरूको बीचमा हामी बसेका छौँ, दुवैसँग समान व्यवहार गर्न चाहन्छौँ।”
नेपालबाट भारतविरोधी गतिविधि नभएको र हुने सम्भावना पनि तत्काल नरहेको उल्लेख गर्दै नेपालको सत्तापक्ष र प्रतिपक्ष दुवै संवादको माध्यमबाट त्यसलाई हल गर्दै जाने विगतको अडानमा आफूहरू कायम रहेको उनले बताए।
अन्य कार्यक्रम कस्ता छन्?
यसपालिको राष्ट्रसङ्घीय महासभामा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्करले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
मोदी र ओलीबीच भेटवार्ता नभएको खण्डमा भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गर्न सक्ने ठानिएको छ।
हाल क्यानडामा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा त्यतैबाट न्यूयोर्क गएर महासभाको नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछिन्।
अमेरिकीसहित विभिन्न देशका उच्च अधिकारीहरूसँग उनको भेटवार्ता गर्नका लागि नेपालले कूटनीतिक माध्यमबाट प्रयास अघि बढाएको बुझिन्छ।
प्रधानमन्त्रीले अमेरिकामा रहँदा न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र हार्भर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।