एजेन्सी । भुटानी राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले सोमवार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने भएका छन् ।
भुटान र चीन बीचको सीमा विवादलाई लिएर जारी वार्ताका बीच भुटानी राजा नामग्याल वाङचुकको यो भारत भ्रमणलाई विशेष रुपमा हेरिएका हुन् ।
चीनले साना देशलाई भारतविरुद्ध उक्साइरहेको छ
चीन दक्षिण एसियाका धेरै देशलाई भारत विरुद्ध उक्साउनमा व्यस्त रहेको छ । माल्दिभ्सका नयाँ राष्ट्रपति मोहम्मद मोइज्जुले सेप्टेम्बरमा भारत विरोधी मुद्दामा चुनाव जितेका थिए । श्रीलंकामा पनि चीनको प्रभाव बढेको छ । भारतको विरोधका बाबजुद चिनियाँ अन्वेषण जहाज २५ अक्टोबरमा कोलम्बो पुगेको थियो । श्रीलंकाले आफ्नो हम्बनटोटा बन्दरगाह चीनलाई भाडामा दिएको छ ।
चीन भुटानको ढोकामा पुग्यो
दक्षिण एसियाका देशलाई भारतविरुद्ध उक्साउने चीन अहिले भुटानको ढोकामा पुगेको छ । हालै भुटानका विदेशमन्त्री टण्डी दोर्जीको बेइजिङ भ्रमणका क्रममा चीनले भुटानलाई औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरी सीमा विवाद समाधान गर्न प्रस्ताव गरेको थियो ।
डोकलामलाई लिएर भारत निकै सतर्क रहेको छ
चीनले भुटानलाई डोक्लामको जग्गा साट्ने प्रस्ताव पनि गरेको छ । यस विषयमा भारत सतर्क भएको छ । डोकलाम सिलिगुडी कोरिडोर (चिकन नेक) नजिक छ । यो ६० किलोमिटर लामो र २२ किलोमिटर चौडा कोरिडोरले उत्तर–पूर्वका ७ राज्यलाई भारतसँग जोड्दछ । सन् २०१७ को जुनमा डोक्लाममा सडक विवादलाई लिएर भारत र चीनका सेनाहरू आमनेसामने भएका थिए ।
भारत भुटानको सबैभन्दा ठूलो सहयोगी देश हो
८ लाख जनसंख्या भएको भुटानमा असंलग्न नीति छ । अमेरिका, चीन, बेलायत, फ्रान्स र रुससँग यसको कूटनीतिक सम्बन्ध छैन । सन् १९४९ मा भारत र भुटानबीच विदेश नीति, व्यापार र सुरक्षा सम्बन्धी सन्धि भएको थियो । सन् २००७ मा विदेश नीति प्रावधान हटाइयो । भारत अहिले भुटानको सबैभन्दा ठूलो कूटनीतिक र आर्थिक साझेदार हो ।
भुटान–चीन सीमा विवाद
भुटानले चीनसँग ६०० किलोमिटर सीमा जोडेको छ । दुईवटा क्षेत्रमा सबैभन्दा बढी विवाद छ । पहिलो– डोक्लाम क्षेत्रफल २६९ वर्ग किलोमिटर क्षेत्रफल र दोस्रो– उत्तर भूटानको ४९५ वर्ग किलोमिटर जकारलुङ र पासामलुङ उपत्यका क्षेत्र रहेका छन् ।
सबैभन्दा गम्भीर मामिला डोकलामको हो, जहाँ चीन, भारत र भुटान तीन देशको सिमाना जोडिएको छ । अक्टोबर २०२१ मा, चीन र भुटानले ’थ्री–स्टेप रोडम्याप’ सम्झौतामा हस्ताक्षर गरे ।
अक्टोबर २३ मा भुटानका विदेशमन्त्री दोर्जीसँगको भेटमा चिनियाँ विदेशमन्त्रीले सीमा विवाद समाधान गर्न चीन तयार रहेको बताएका थिए । भुटानका प्रधानमन्त्री लोटे छिरिङले पनि हालै एक अन्तर्वार्तामा डोक्लामको भू भाग साटासाट गर्ने चीनको प्रस्तावलाई उल्लेख गरेका थिए ।