आतंकवादको चुनौती सामना र सूचना प्रविधि क्षेत्रको सहयोगमा जोड
नयाँदिल्ली — संघाई कर्पोरेसन अर्गनाइजेसन ९एससीओ० को शिखर सम्मेलन मंगलबार भर्चुअली भएको छ । भारतमा हुनुपर्ने एससीओको सम्मेलन सदस्य देशबीचको विवाद र अन्य कारणले भौतिक उपस्थितिमा हुन नसकेको हो ।
भारत अध्यक्ष रहेको एससीओमा चीन, रुस र पाकिस्तानलगायत देश सदस्य छन् । केही अगाडि नै अध्यक्ष राष्ट्र भारतले एससीओ सम्मेलन भर्चुअली हुने जानकारी दिएको थियो । भर्चुअली हुनुको प्रस्ट कारण नबताइए पनि पाकिस्तानसँग भारतको बिग्रेको सम्बन्ध, चीनसँग पनि पछिल्लो समय चलिरहेको तनावलगायत कारण बैठक भौतिक उपस्थितिका साथ नगराइएको विश्लेषण छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको यात्रालाई लिएर पनि संशय थियो । मे महिनाको पहिलो साता गोवामा एससीओ सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठक भने भौतिक उपस्थितिमै भएको थियो । त्यहाँ पाकिस्तानका विदेशमन्त्री पनि सहभागी भएका थिए ।
शिखर सम्मेलनपछि आयोजित विशेष पत्रकार सम्मेलनमा विदेशमन्त्री विनयमोहन क्वात्राले धेरै कारणले सम्मेलन भर्चुअली भएको बताएका छन् । तर, यसले शिखर सम्मेलनको उद्देश्यमा कुनै पनि प्रभाव नपार्ने उनले दाबी गरे । एससीओ बैठकले उग्रवाद र आतंकवाद जस्ता चुनौतीको सामना गर्न सहकार्य गर्ने र डिजिटल परिवर्तनको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयलाई स्विकारेको क्वात्राले जानकारी दिए । उनले यी दुई विषयसहित विभिन्न १० वटा बुँदामा निर्णय भएको बताएका छन् । ती निर्णयको उद्देश्य एससीओ देशका बीचमा सहयोग र सहकार्य बढाउने रहेको क्वात्राले उल्लेख गरेका छन् ।
सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफसहित ८ देशका सरकार प्रमुख सहभागी भएका थिए । एससीओमा ताजकिस्तान, किर्गिस्तान, कजाकस्तान र उज्वेकिस्तान पनि सदस्य राष्ट्र हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकमा आतंकवादी गतिविधि नियन्त्रणको विषय उठाएका थिए । उनले आतंकवादविरुद्ध सबै देश एकजुट भएर लड्नुपर्ने उल्लेख गरे । उनले सीमापार आतंकवादलाई संरक्षण दिने र त्यसलाई देशकै नीति बनाउने कार्यको सबैले आलोचना गर्नुपर्ने धारणा राखेका थिए । भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको छ । प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा पाकिस्तानको नाम भने लिएका थिएनन् ।
एससीओको मञ्चलाई उपयोग गर्दै रुसी राष्ट्रपति पुटिनले पश्चिमा देशका तर्फबाट लगाइएको प्रतिबन्धको रुसले सामना गरिरहने उल्लेख गरे । उनले एससीओ सदस्य देशबीचमा सम्बन्ध राम्रो बनाउन लगातार काम गरिरहनुपर्नेमा पनि जोड दिएका थिए । चिनियाँ राष्ट्रपति सीले क्षेत्रीय शान्ति र आमनागरिकको सुरक्षा सुनिश्चितताको दिशामा सबैले काम गर्नुपर्नेमा जोड दिए । उनले पनि सदस्य राष्ट्रहरूमा एकता र विश्वास बढाउन आग्रह गरे ।
पाकिस्तानी प्रधानमन्त्री सरिफले आतंकवाद र अग्रवादविरुद्ध दृढता तथा विश्वासका साथ लड्नुपर्ने भनाइ राखेका थिए । एससीओको स्थापना सन् २००१ मा भएको हो । प्रारम्भमा यसमा ६ देशमात्रै सदस्य थिए । सन् २०१७ बाट भारत र पाकिस्तानले स्थायी सदस्यको मान्यता पाएका हुन् ।ईकान्तिपुर