क्यानबेरा — अस्ट्रेलियाले भारत र जापानलगायत हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग कूटनीतिक र रक्षा साझेदारीलाई बढाउने भएको छ । दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी र विधिमा आधारित व्यवस्था जोखिममा परेको भन्दै अस्ट्रेलियाले यस्तो सम्बन्ध विस्तारमा जोड दिएको हो ।
क्यानबेराले गत सोमबार सार्वजनिक गरेको रक्षासम्बन्धी रणनीतिक प्रतिवेदनमा भारतलगायत प्रमुख शक्तिराष्ट्रसँग आफ्नो सैन्य सम्बन्ध र व्यावहारिक सहयोग विस्तार गर्न जारी राख्नुपर्नेमा जोड दिएको छ । हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकाको एकध्रुवीय नेतृत्व नरहेको र चीन–अमेरिकाबीचको तीव्र प्रतिस्पर्धा द्वन्द्वको कारक बन्न सक्ने भएकाले त्यसतर्फ सचेत हुन प्रतिवेदनमा सुझाइएको छ । ‘अस्ट्रेलियाले जापान र भारतलगायत प्रमुख शक्तिहरूसँग आफ्नो सम्बन्ध र व्यावहारिक सहयोग विस्तार गर्न जारी राख्नुपर्छ, क्यानबेराले क्षेत्रीय एकता र विकासका लागि लगानी गर्न आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदन अस्ट्रेलियाको रक्षा बलका पूर्वप्रमुख एंग्स ह्युस्टन र पूर्वरक्षामन्त्री स्टिफन स्मिथले तयार पारेका हुन् । प्रतिवेदनले रक्षा र राष्ट्रिय सुरक्षा खर्चमा वृद्धि, राष्ट्रिय खुफिया तत्त्वहरूको पुनर्गठन र साइबर सुरक्षामा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिएको छ । हिन्द–प्रशान्त रणनीतिक ढाँचा अपनाउने, क्षेत्रीय रणनीतिक योजनाका साथै बहुपक्षीय, त्रिपक्षीय र द्विपक्षीय साझेदारी विस्तार गर्दै जापान, भारत र संयुक्त राज्य अमेरिकासँग क्वाड साझेदारी अभिवृद्धि हुनुपर्ने प्रतिवेदनको सुझाव छ । प्रतिवेदनले अस्ट्रेलिया र चीनबीचको स्थिर सम्बन्ध दुवै देश र बृहत् क्षेत्रको हितमा रहेको बताएको छ ।
अस्ट्रेलियाले चीनसँगको सहयोग जारी राख्नुपर्ने, मतभिन्नतालाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्नुपर्ने र राष्ट्रिय हितलाई सर्वोपरि मानेर अघि बढ्नुपर्ने खाँचो प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदन सार्वजनिक गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी दशकमा अस्ट्रेलियाको रणनीतिक नीति, रक्षा योजना र स्रोतहरूका लागि खाका तयार गर्न प्रतिवेदन सहयोगी हुने बताए ।