काठमाडौँ– बिहीबार सभामुख निर्वाचन सकेर निस्किने क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटा रोचक प्रसंग निकाले । उनको भनाइमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको पिँजडामा थुनिएका छन् ।
जुन धातुबाट बनेको पिँजडाको तात्विक अर्थ नफेरिने भन्दै उनले प्रचण्ड ओलीले बनाएको ‘प्रधानमन्त्री’ नामको पिँजडामा कैद भएको बताए, त्यो पनि सांकेतिक भाषामा होइन, मुखै फोरेर ।
हुन पनि नेपाली कांग्रेससँगको सहकार्य अन्त्य गर्दै प्रधानमन्त्री बन्नकै लागि एमालेको ‘फेर’ समाएका प्रचण्डको हातमा अहिले ‘प्रधानमन्त्री’बाहेक केही छैन ।
सरकारका महत्वपूर्ण मन्त्रालय गृह, रक्षा, अर्थ, परराष्ट्र माओवादीसँग छैनन् । रास्वपाका रवि लामिछाने गृहमन्त्री छन्, अर्थ, परराष्ट्र, रक्षा जस्ता पावरफुल मन्त्रालय एमालेले आफूसँगै राखेको छ ।
एमालेले मन्त्रालय मात्र होइन, सरकार चलाउने चाबीसमेत आफ्नै हातमा राखेको छ– उच्चस्तरीय राजनीतिक संयन्त्रका नाममा । सरकार गठनमा सहमति हुने बेलामै ओलीले सत्ता साझेदार दलहरू सम्मिलित उच्चस्तरीय संयन्त्र बनाउने सहमति गराए र सोको संयोजक आफैँ बसे ।
अहिले बनेको मन्त्रिपरिषद्मा कसलाई कुन मन्त्रालय दिने भन्ने पनि ओलीकै डिजाइनमा भएको कांग्रेस नेताहरूले बताउँदै आएका छन् । सरकारको चाबी कसको हातमा छ भन्ने थप पुस्ट्याइँ गर्ने अर्को दृश्य हो– सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रम ।
सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा एमाले अध्यक्ष ओली बीचमा अझ नेपालको निशान छापको तल बसे भने प्रधानमन्त्री प्रचण्ड उनको साइडमा बसेका थिए । जब कि संविधानले प्रधानमन्त्री र सरकार चिन्छ, कुनै पनि नामको संयन्त्र चिन्दैन ।
संघसँगै प्रदेश सरकारको बाँडफाँटमा पनि ओलीकै डिजाइनले काम ग¥यो । त्यतिमात्र होइन, मन्त्रिपरिषद्को विषयमा देशको प्रधानमन्त्री अर्को पार्टीको अध्यक्षको घरमा गएर लामो समय व्यतीत गरेको विषयले पनि उनी पिँजडामा छन् भन्ने पुष्टि हुने तर्क शर्माले पेस गरेका छन् ।
नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई पिँजडाबाट बाहिर ल्याउन अहिलेको सत्ता समीकरण भत्काउनुपर्ने हुन्छ । समीकरण भत्काउन एमालेलाई सत्ताबाहिर बस्न बाध्य पार्नुपर्छ । त्यसका लागि एमालेले माओवादीसँग गरेको बाचा पूरा हुन नदिने तयारीमा कांग्रेस जुटेको छ ।
नेपाली कांग्रेसका अर्का नेता चन्द्र भण्डारीले पनि अहिलेको सत्ता समीकरण भत्काउन काम भइरहेको मुखै खोलेर बताइसकेका छन् ।
नेता भण्डारीले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर बनेको गठबन्धन भत्काउने मिसनमा पार्टी रहेको बताएका छन् । प्रतिपक्षलाई ‘वेटिङ गभरमेन्ट’ भनिए पनि भण्डारीले जस्तै ‘हामी सरकार ढाल्ने मिसनमा छौँ’ भनेर मुखै फोरेर बोलेको भने राजनीतिक इतिहासमा कमै पाइन्छ ।
उनका अनुसार एमालेले कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको माओवादीलाई प्रधानमन्त्री दियो र कांग्रेससँगको गठबन्धन टुट्यो । अब एमालेसँग भएको माओवादीको गठबन्धन कांग्रेसले टुटाउने बताइरहँदा यो गठबन्धन टुट्ने आधारबारे चर्चा स्वाभाविक हो ।
भण्डारीले कांग्रेस ‘सरकार ढाल्ने मिसन’मा रहेको बताइरहँदा पार्टी सभापति शेरबहादुर देउवा पनि त्यही हठमा रहेको कांग्रेस वृत्तमा चर्चा छ । कांग्रेसका एक पदाधिकारीका अनुसार देउवा राजनीतिमा केही परिवर्तन नगराएसम्म बूढानीलकण्ठस्थित आफ्नो घर पनि नजाने हठ लिएर बसेका छन् ।
प्रचण्डले राष्ट्रपतिका लागि कांग्रेसलाई बचन दिएको उनको भनाइ छ । राष्ट्रपतिको निर्वाचनमा फ्लोर क्रस गरेर भए पनि माओवादीले कांग्रेसलाई मतदान गर्ने बचन दिएका कारण कांग्रेसले माओवादीलाई विश्वासको मत दिएको ती नेताले बताए ।
‘प्रचण्डले हामी (कांग्रेस)सँग राष्ट्रपतिका लागि बचन दिनुभएको छ । अहिले उहाँ (प्रचण्ड) को भाषाशैलीले निरीह बन्नुभएको हो कि ! झैँ लागेको छ । स्पष्टसँग बोल्न नसकेकै कारण उहाँ पिँजडामा हुनुहुन्छ भन्ने हाम्रो पार्टीको धारणा हो,’ ती पदाधिकारीले भने ।
राष्ट्रपतिको निर्वाचन भइसकनुपर्ने मिति आउन २२ दिनमात्र बाँकी छ । राष्ट्रपतिको निर्वाचनअघि कांग्रेसको केन्द्रीय समिति बैठकसमेत नबस्नेतर्फ उनको संकेत छ ।
माघ १५ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइए पनि अर्को अवस्था सिर्जना नभएसम्म बैठक सारिन सक्ने उनको भनाइ छ ।
कांग्रेसले राष्ट्रपतिका लागि गरेको अभ्यासबारे एमाले चनाखो छ । तर, एमालेसँगको गठबन्धन भत्काउन पनि प्रचण्ड तयार हुन्छन् कि हुँदैनन् भन्ने विषय प्रमुख बनेको छ । ‘विश्वजीले भनेजस्तै प्रधानमन्त्री पिँजडाबाट बाहिर आउन चाहनुहुन्छ भने उहाँले बचन पूरा गर्नुपर्छ । उहाँले आफ्नो बचन पूरा गर्नुभएन भने अझै लामो समय पिँजडामै बस्नुपर्ने हामीले देखिसक्यौँ । त्यसपछि कांग्रेसले केही अरू रणनीति अपनाउला । हाललाई कांग्रेस प्रचण्डले दिएको बचनको पर्खाइमा छ,’ उनले भने ।
तत्कालीन नेकपा हुँदा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको मतभेदका कारण माधव नेपाललाई लिएर सडकमा पुगेका प्रचण्डले आफू प्रधानमन्त्री बन्दा नेपाललाई समेत वास्ता नगरेको जस्तो देखिएको छ ।
त्यसको पछाडिको कारण पनि अहिलेको सत्ता समीकरण टुटेको अवस्थामा माधव नेपाल र कांग्रेसलाई लिएर सरकारमा जाने प्रचण्डको तयारी रहेको हुन सक्ने नेपाली राजनीतिका जानकारहरू बताउँछन् । क्यानाडानेपाल