काठमाडौं – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौंका १० क्षेत्रमध्ये अहिलेसम्म कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले एक एक सिट जितेका छन् ।
अझै आठवटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । काठमाडौं १ मा कांग्रेस नेता प्रकाशमान सिंह र काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् । मतगणनाअनुसार नेपाली कांग्रेसले चारवटा निर्वाचन क्षेत्रमा अग्रता हासिल गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले तीन र एमालेले एउटा निर्वाचन क्षेत्रमा अग्रता हासिल गरेको छ । कांग्रेसले अग्रता हासिल गरेका निर्वाचन क्षेत्रमा काठमाडौं ३, ४, ५ र १० छन् । काठमाडौं ३ मा सन्तोष चालिसे, ४ मा महामन्त्री गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसीले जित्ने प्रबल सम्भावना छ ।
काठमाडौं ४ मा त अबको केही बेरमै मतगणना सकिने भएको छ । कांग्रेस महामन्त्री थापा एमालेका राजन भट्टराईभन्दा ५५ सय मतले अगाडि छन् । उनले १९ हजार मत ल्याइसकेका छन् ।
अब एउटा वडाको मत मात्र गन्न बाँकी छ । कांग्रेसपछि काठमाडौंमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जबर्जस्त प्रदर्शन गरेको छ । मतगणनाकोे ट्रेन्ड हेर्दा सो पार्टीले काठमाडौंमा चारवटा निर्वाचन क्षेत्र जित्ने देखिएको छ ।
अहिले सो पार्टीका उम्मेदवार काठमाडौं २, ६ र ७ मा अगाडि छन् । अझै पनि धेरै मत गन्न बाँकी रहेकाले परिणाम कस्तो आउँछ भन्न सकिन्न । तर, रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटककै निर्वाचनमा सानदार प्रदर्शन गरेको छ ।
उसले एमालेलाई जित्ने देखिएको छ । एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९ मा अगाडि छन् । त्यहाँ पछि रविकै पार्टीक उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसका उम्मेदवार नभएका धेरै क्षेत्रमा रविको पार्टीका उम्मेदवारले बाजी मारेका छन् । काठमाडौं ६ र १० मा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ ।