काठमाडौं । अष्ट्रेलियाकी एक आदिवासी सांसदले शपथ ग्रहण गर्ने बेला बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेपछि दोहोर्याएर शपथ लिनु परेको छ ।
सिनेटर लिडिया थोर्पले शपथ ग्रहणको व्यहोरामा आफूखुसी केही शब्द थप्दै महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेकी हुन् ।
गत साता सांसदहरुको शपथ ग्रहणमा उनी अनुपस्थित भएकाले एक्लै शपथ ग्रहण गरेकी थिइन् । थोर्पले भिक्टोरिया राज्यबाट ग्रिन्स पार्टीबाट संसदमा प्रतिनिधित्व गर्छिन् । हाल अष्ट्रेलियामा लेबर पार्टीको नेतृत्वमा सरकार छ । एन्थोनी अल्बानेजी प्रधानमन्त्री पदमा छन् ।
९६ वर्षीया रानी एलिजाबेथ अष्ट्रेलिया राज्यको प्रमुख हुन्छिन् । उनलाई साक्षी राखेर शपथ ग्रहण गर्ने गरिन्छ । अष्ट्रेलिया एक सय वर्षभन्दा बढी समयसम्म बेलायतको उपनिवेश थियो । यस अवधिमा हजारौं मूल अष्ट्रेलियाली नागरिक मारिएका थिए भने कयौं बिस्थापित भएका थिए ।
सन् १९०१ मा अष्ट्रेलिया स्वतन्त्र भयो तर अझै पूर्ण गणराज्य बन्न सकेको छैन । सर्वेक्षणहरूमा अधिकांश अष्ट्रेलियाई गणतन्त्रको पक्षमा देखिएका छन् । तर राज्यको प्रमुख कसरी चुन्ने भन्ने विषयमा खासै सहमति हुन सकेको छैन । रानीको स्थानमा संसदकै सदस्यमध्ये एक चुनिने वा अन्य जनप्रतिनिधि भन्ने विवाद कायम छ ।