संजय यादव, सिरहा
१४ चैत्र, २०७८
पेट्रोलियम व्यवसायीको माँग अबिलम्ब पुरा गर भन्दै पेट्रोलियम व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय सिरहामा जानकारी पत्र बुझाएका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिको माँगहरु निर्धारित समयभित्र पुरा नभए पूर्व निर्धारित कार्यक्रम अनुसार सशक्त आन्दोलनमा जाने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका १ नम्बर प्रदेशका संयोजक रामसगुन यादवले बताए । हाम्रा माँगहरु पूरा नभए चैत्र २० गते बाट यस क्षेत्रभरी पेट्रोलियम पदार्थ र एलपी ग्यासको बिक्री वितरण तथा ढुवानी कार्य पूर्णरूपले बन्द गर्ने निर्णय भए अनुसार नै कार्यान्वयनमा ल्याउने संयोजक यादवले बताए । पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी मार्फत गृह मन्त्रालयलाई जानकारी तथा अनुरोध गरेका छन् । सिरहा जिल्लाका पेट्रोलियम व्यवसायीहरुको सहभागितामा प्रमुख जिल्ला अधिकारी कवारीलार्ई जानकारी पत्र बुझाउँदै प्रदेश संयोजक यादवले भन,े उल्लेखित माँगहरु यथाशीघ्र सम्बोधन गरिने विश्वास गरेका छौं र नगरिए आन्दोलनका कार्यक्रम सशक्तरुपमा सञ्चालन गरिने र सो बाट उत्पन्न हुने असुविधाको सम्पूर्ण जिम्मेवार आयल निगमले लिनु पर्ने । नेपालमा पेट्रोलियम ऐन नभएको हुँदा तत्काल पेट्रोलियम ऐन बनाई लागु गर्नुपर्ने, निगमको विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जनसहित संशोधन गर्नुपर्ने, ढुवानी भाडाकोे हकमा ढुवानी भाडा समायोजन गर्नुपर्ने र अगामी दिनमा डिजेलको मूल्य अनुपातमा बढ्दा बढने र घट्दा घटने गरी स्वचालित ढुवानी भाडा कायम गर्ने व्यवस्था लागु हुनुपर्ने जस्ता ६ बुँदे माग रहेकोे संयोजक यादवले बताए । समन्वय समितिले चैत्र ६ गतेदेखि चरणबद्ध संघर्षका कार्यक्रमहरु गर्दै आइरहेका छन् ।