काठमाडौं : सरकारसँग भएको सम्झौता अनुसार समयमा मल नल्याउने दुई ठेकेदार कम्पनीको धरौटी जफत भएको छ। चरम अभावको समयमा समेत मल नल्याएको भन्दै कृषि मन्त्रालयले २ मल ठेकेदार कम्पनीको धरौटी जफत गरेको हो। कृषी सामाग्री कम्पनी लिमिटेडले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज ललितपुर र होमनाथ कोइरालाको होनिको मल्टिपल प्रालिको धरौटी जफत गर्ने निर्णय गरेको हो। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले दुवै ठेकेदार कम्पनीको धरौटी खोस्ने निर्णय भएको जनाउँदै उनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया पनि अघि बढाइएको जानकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दिएका छन्। कृषि सामग्री कम्पनीले कारवाही अघि बढाएको जानकारी दिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरे। उनले दुवै कम्पनीसँगको ठेक्का रद्द गरिएको बताउँदै मल आयातका लागि नयाँ प्रकृया शुरु गर्ने उल्लेख गरे। यी दुई कम्पनीले सरकारसँगको सम्झौतामा २० भदौसम्ममा मल ल्याइसक्ने जनाएका थिए। तर उनीहरुले तोकिएको समयसीमामा मल नल्याउँदा कोरोनाको संकटमा पनि कृषकहरु केही किलोका लागि रातभर लाइन लाग्न बाध्य थिए। मल नल्याएका यी कम्पनीले अघिल्लो शुक्रबार मल ल्याउने समयसीमा थपिदिन भन्दै कृषि सामग्री कम्पनीमा निवेदन हालेका थिए। कृषि मन्त्री भुसालले मल नआउँदा आफ्नै बदनामी हुने भएपछि दुवै कम्पनीलाई कारवाही अघि बढाएका थिए। यी दुई कम्पनीले बर्खे बालीका लागि २५–२५ हजार टन युरिया मल ल्याउने सम्झौता गरेका थिए। त्यसका लागि उनीहरुले जनही ५ प्रतिशत रकम धरौटी राखेका थिए। कृषि सामग्री कम्पनीको आइतबारको निर्णयपछि दुवै कम्पनीबाट ९ करोड ४५ लाख धरौटी रकम सरकारले जफत गरेको छ। यी कम्पनीले समयमै मल ल्याउन नसकेपछि सरकारले बंगलादेश सरकारसँग ५० हजार मेट्रिक टन पैँचो मागेको छ।