काठमाण्डौं : कोरोना भाइरस महामारी र चीनसँगको तनावका कारण कृषि उपजको मुल्य ह्वात्तै घटेपछि अमेरिकाका लाखौं किसानहरूले खेती गर्न नै छाडिदिएका छन्।चीनतर्फ निर्यात हुने मकै, भटमास र कपास उत्पादन गर्ने किसानहरूले करोडौं एकड जमिन बाँझै छाडिदिएका हुन्। फलिसकेको फसलसमेत नटिपी मानिसहरूले धमाधम खेतीकिसानी नै छाडिरहेका छन्। अमेरिकामा बाँझो छाडिएको जमिनमा फर्किएर किसानले फेरि खेती गर्नु असम्भवजस्तै हुन्छ। किनकी, अस्थिर बसोबास र आर्थिक अवसरको खोजीका लागि भौंतारिइरहने किसानका लागि बाँझो जमिन फुटाउँदै फेरि खेतीपातीमा फर्कनु निकै चुनौतीपूर्ण रहन्छ।
भाँच्न तयार भएको मकैसमेत किसानहरूले बारीमै छाडिदिएका छन्।
नेपालमा जस्तो परिवारका लागि सीमित जमिनमा निर्भर हुनुपर्ने बाध्यता अमेरिकी किसानहरूलाई छैन। विदेश निर्यात गर्न हजारौं-लाखौं एकड जमिनमा खेती गर्ने त्यहाँका किसानहरूलाई फसलको मुल्यमा निरन्तरको गिरावट र महामारीले चाहिँ कृषि पेशाबाटै विमुख गरिदिएको हो। पूर्वी कोलोराडोस्थित एक हजार २५० एकड जमिन ट्रोय सेन्डियरका लागि महत्वपूर्ण थियो। सिंचाई सुविधा पुगेको यो जमिनमा अन्य सुख्खा क्षेत्रभन्दा तीन गुणा बढी फसल प्राप्त हुन्थ्यो। तर यो वर्ष अर्थतन्त्रमा लागेको प्रतिबन्ध र मकैबाट उत्पादन गरिने जैविक इन्धनको माग ह्वात्तै घटेको छ। त्यसैले उनले १२५ एकड जमिनमा कुनै खेती गरेका छैनन्। अब खेती गर्नुको साटो गाईका लागि घाँस छर्नु नै आर्थिक हिसाबले लाभदायक छ। सेन्डियर भन्छन्, ‘अर्थव्यवस्था ठप्प छ, यातायातका साधन चलाउन ड्राइभर पनि छैनन्, यो अवस्थाले कृषि उपजको मुल्य निकै तल झरेको छ, एउटा काममा मात्र नभई हरेक क्षेत्रमा किसानहरूले आर्थिक घाटा व्यहोरिरहेको छन्।’
मौसमलाई पछ्याउँदै खेती गरेपनि अब किसानहरूले यो काम छाड्दैछन्। जमिन बाँझै छाड्नु अमेरिकी किसानका लागि बाध्यता भइसकेको छ। हरेक एकड जमिनमा कडा परिश्रम गरि सक्दो फसल लिने उनीहरूको जीवनचर्या कोरोनाले बदलिदिएको छ। अमेरिकी सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार मकै र कपास उत्पादन गर्ने कृषि क्षेत्र अपेक्षा गरेभन्दा घटेको छ। मकैको बीउ खरिदमा ३७ वर्ष यताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ। अर्थात, किसानहरूले धमाधम मकै खेती गर्न छाडिरहेका छन्। कोरोना भाइरस महामारीका कारण कैयौं किसानहरूले बारीमा फलिसकेको मकैसमेत स्याहार नै नगरी त्यसै छाडिदिएका छन्। अमेरिकामा उत्पादित मकैको मुख्य बजार चीन हो। तर चीनसँग पनि अमेरिकाको व्यापारलगायत तनाव जारी रहेकाले मकैको बजार गुमिरहेको छ। जनवरीमै चीनले अमेरिकी भटमास समेत खरिद नगर्ने चेतावनी दिइसकेको छ। अमेरिकी कृषि विभागले मार्चमा जारी गरेको प्रतिवेदनअनुसार त्यहाँका किसानहरूले ९६.९९९ मिलियन एकड जमिनमा मकै खेती गर्ने चाहना देखाएका थिए।
किसानहरूको यो योजना सन् १९२० देखि अमेरिकामा चलेको महामन्दीयताकै ठुलो थियो। इथानोलको माग र मकैबाट बन्ने जैविक इन्धनको खपतमा कमी तथा कोरोनाका कारण मानिसहरू घरमै बस्नुपर्ने स्थितिले मकैको बजारमा मन्दी देखियो। खेती गर्ने जमिनबाट किसानहरूले खनजोत गर्ने ट्याक्टर नै फर्काइदिए। कृषि विभागका अनुसार मार्च यता मकै खेती गर्ने फार्महरू ५.१ प्रतिशतले घटेको छ, मकैको मूल्यमा पनि १०.३ प्रतिशतले गिरावट देखिएको छ। किनकी किसानहरूले यसअघि उत्पादन गरेको मकै नै बिक्री भएको छैन। अमेरिकी मकै निर्यात ३१ वर्ष यताकै न्युन बिन्दुमा झरेको छ। किसानहरूसँग निकै धेरै परिमाणमा मकै सञ्चित छ। तर, निकै सस्तो मूल्यमा बेच्दा पनि लागत समेत उठ्न नसक्ने अवस्था छ। अमेरिकामा कपास खेती पनि निकै तीव्र गतिमा घटिरहेको छ। मार्च यता मात्रै कपास खेती हुने १३.७०३ मिलियन एकड जमिन किसानहरूले बाँझै छाडिदिएका छन्। किनकी विश्वभर नै नयाँ कपडाको माग घटिरहेको छ। कोरोना महामारीका कारण आर्थिक गतिविधि सुस्त हुँदा मानिसहरूले काम गर्न पाएका छैनन् र उनीले केही वर्षसम्म नयाँ कपडाका लागि पर्याप्त रकम खर्च गर्ने छैनन्। त्यसैले अमेरिकी कपासको मूल्य ३० प्रतिशतले घटेको छ। कपासको मूल्यमा आएको भारी गिरावट र कमोडिटी बजारमा बढिरहेको अनिश्चितताले उत्पादक पहिलेभन्दा पनि कठिन अवस्थामा पुगेका छन्।
उनीहरूको आर्थिक अवस्था दिनानुदिन कमजोर बनिरहेको छ। अमेरिकी कृषि विश्लेषकहरू भन्छन्, यति धेरै जमिनमा एकैसाथ खेती गर्न छाड्नु इतिहासकै दुर्लभ र भयानक समस्या हो। भटमास र मकैको क्षेत्रका परामर्शदाता विज्ञ माइकल कार्डनियर भन्छन्, हामी सामान्य आर्थिक अस्वस्थता र कोरोना महामारीसँग जुधिरहेका थियौं, तर यतिखेर सबै क्षेत्र जोखिममा परेको छ। अर्कातर्फ, सरकारले नै अनुदान कटौती गरेपछि किसानहरू खेती गर्न छाड्नैपर्ने अवस्थामा पुगिरहेका छन्। कोरोना महामारीका बेला किसानहरूलाई अघिल्लो वर्ष भएको उत्पादनका आधारमा सहायता दिने भनिएको थियो। ट्रम्प प्रशासनले चीनमा अमेरिकी मकै बिक्री नहुँदा किसानहरूले व्यहोरेको क्षतिको क्षतिपूर्ति दिने निर्णय गरेको थियो। तर, बजार मूल्यमा आएको चरम गिरावटका कारण ट्रम्प प्रशासनले दिएको सहायताले पनि किसानहरूलाई खेतीमा फर्काउन सक्ने सम्भावना देखिएको छैन।