नेपालगन्ज : कोरोना संक्रमितहरुको संख्या बढेसँगै संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या पनि बढ्दै गएको छ। कोरोना संक्रमणबाट नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा मात्र ७ जना बिरामीको मृत्यु भइसकेको छ। शिक्षण अस्पताल नेपालगन्जमा एक जना र क्वारेन्टाइनमा एकजना गरेर बाकेमा मात्रै ९ जनाको मृत्यु भएको। मृत्यु भएका ९ जनामध्ये बाँके जिल्लाका मात्रै ६ जना छन्। बाँकेका अस्पताल र क्वारेन्टाइनमा मृत्यु भएका ९ जना मध्ये ७ जना निमोनियाका कारण फोक्सोमा समस्या भएर मृत्यु भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डा दिनेश श्रेष्ठले बताए। अस्पतालमा भर्ना भएको २ देखि ७ दिनको अवधिमा मृत्यु संक्रमितहरुको मृत्यु भएको थियो। अपहेलनामा परिने डर अधिकांश बिरामीहरु ज्वरो रुघाखोकी जस्ता समस्या भए पछि घर मै सामान्य औषधी खाएर बस्ने र स्वास्थ्य समस्या जटिल बन्दै गएपछि मात्रै अस्पतालमा जाने क्रम पछिल्ला दिनहरुमा बढ्दै गएको छ। अस्पताल गएपछि कोरोना परीक्षण गराउनुपर्छ। र पोजिटिभ आयो भने १४ दिनसम्म आइसोलेशनमा बस्नुपर्छ। छिमेकीहरुबाट हुने अपहलेनाहरु खेप्नुपर्छ भन्ने गलत सोचाईका कारण अधिकांश मानिसहरुले कोरोना परीक्षण गराउनै नमान्ने समस्या अहिले पनि कायमै रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका मेडिसिन विभागका प्रमुख डा आशिम किदवाईले बताए। कोरोनाको संक्रमण बढ्दै गएपछि बिरामी तथा उनका आफन्तहरुले घरमै ज्वरो नाप्ने क्रम बढ्दै गएको छ। तर कोरोनाका शंकास्पद बिरामीहरुको ज्वरो भन्दा पनि शरीरमा अक्सिजनको मात्राको अवस्था के कस्तो छ भनेर नाप्नु जरुरी हुन्छ। तर, अझै पनि घरमै अक्सिजनको मात्रा नाप्ने चलन हाम्रो समाजमा सुरु भइसकेको छैन। जसकारण स्वास्थ्यमा समस्या भएर अस्पतालमा पुग्दा बिरामीको शरीरमा अक्सिनको मात्रा घटेर स्वास्थ्य अवस्था गम्भीर बनिसक्दा पनि बिरामी तथा उनका आफन्तहरुले थाहा पाउँदैनन्। शरीरमा अक्सिजनको मात्रा कम भएका र निमोनिया रोगले ग्रस्त भएका संक्रमितहरुको मृत्यु हुने जोखिम धेरै हुने डा किदवाइले बताए। गम्भीर अवस्थामा अस्पतालमा पुगेका बिरामीहरुलाई शिक्षण अस्पताल कोहलपुरले उपलब्ध साधनस्रोत र औषधि दिएर उपचार गर्दै आएको छ। नेपालगन्ज र कोहलपुरका अस्पतालहरुमा रेमिडिसिभिर इन्जेक्शन उपलब्ध हुनुभन्दा पहिले नै कोरोनाको संक्रमण र निमोनियाका कारण बाँकेमा ७ जना बिरामीहरुको मृत्यु भइसकेको छ। सिरियस अवस्थाका संक्रमितहरुको उपचारमा रेमिडिसिभिर इन्जेक्शन प्रभावकारी देखिएको छ। त्यसैगरी, संक्रमितहरुको उपचारमा प्रभावकारी मानिएको प्लाज्माथेरापी पनि हालसम्म नेपालगन्ज र कोहलपुरमा अस्पतालहरूमा भर्ना भएका संक्रमितहरुले पाउन नसकेको शिक्षण अस्पताल कोहलपुरका फिजिसियन डा अनिल श्रेष्ठले बताए। बाँकेमा हालसम्म मृत्यु भएका संक्रमितको विवरण १ ) जेठ ४ गते नरैनापुर– ५ का २५ वर्षीय युवाको क्वारेन्टाइनमै मृत्यु। २) असार १ गते बाँकेको बैजनाथ गाउँपालिकाकी ४६ वर्षीया महिलाको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको ४ दिनमा मृत्यु। ३) असार ३ गते कैलाली लम्की चुहाकी ४३ वर्षीया महिलाको महिलाको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको ५ दिनमा मृत्यु। ४) साउन २५ बाकेको कोहलपुरकी ७० वर्षीया महिलाको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको ३ दिनमा मृत्यु। ५) साउन २५ गते अछामका ५० वर्षीय पुरुषको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको ६ दिनमा मृत्यु। ६) भदौ १ गते बाँके नेपालगन्जका ६२ वर्षीय पुरुषको शिक्षण अस्पातल नेपालगन्जमा भर्ना भएको ४ दिनमा मृत्यु। ७) भदौ २ गते बर्दियाका ७० वर्षीय पुरुषको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको २ दिनमा मृत्यु। ८) भदौ ७ गते गते बाँके नेपालगन्जका ३७ वर्षीय पुरुषको शिक्षण अस्पाताल नेपालगन्जमा भर्ना भएको ४ दिनमा मृत्यु। ९) भदौ ११ गते बाँकेकी ७० वर्षीया महिलाको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको ३ दिनमा मृत्यु। thahakhabar