धनुषा : प्रहरी यातनाबाट युवकको मृत्यु भएको आरोप लागेका प्रदेश २ को रौतहट जिल्लास्थित ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक (डिएसपी) ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालयमा तानिएको छ ।
गत बुधवार राति गरुडा निवासी निरन्जन राम हत्या आरोपमा पक्राउ स्थानीय २० वर्षिय विजयराम महराको प्रहरी हिरासतमा मृत्यु भएको थियो । घटना पश्चात प्रहरीको यातनाको कारण विजयको मृत्यु भएको स्थानीय सहित विभिन्न संघ संस्थाले आवाज उठाउन थालेपछि डिएसपी महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको हो ।
डीएसपी महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको र सो ठाउँमा डिएसपी भरत श्रेष्ठलाई पठाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका ।
गत साउन ३१ गते राती २० बर्षका निरन्जन रामको घाँटी रेटि हत्या भएको थियो । सोहीे हत्यामा संलग्न रहेको भन्दै प्रहरीले गरुडा नगरपालिका–८ बसविटी जिङ्गडियाका २० वर्षीय अजय कुमार रञ्जन, १९ वर्षीय विवेक कुमार यादव, १९ वर्षीय अर्जुन राम, २० वर्षीय सिकिन्द्र राम, १९ वर्षीय विजय महरासहित सात जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका १९ वर्षीय विजय महराको बुधबार राती वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । भदौ १ गते पक्राउ परेका उनलाई ३ गते देखी स्वास्थ्य समस्या आएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरेपश्चात उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
यता स्थानीयले प्रहरी हिरासतमा महरालाई कुटपिट गरेपछि उनको मलद्वार र पिसाब नलीबाट रगत आएपछि उपचारका लागि वीरगञ्ज पठाइएको र प्रहरीकै कुटाईका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । गरुडाका डीएसपी महतोलाई निलम्बन गरेर घटनाको छानविन गर्नुपर्ने आवाज उठन थालेको थियो ।
घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले उपसचिवको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका उपरिक्षक र रौतहटका अनुसन्धान कार्यालयका उपरिक्षक सदस्य छन् । lokpukar