महेश सिंह लहान, सिरहा — समाज बदलिँदै जाँदा परिवारभित्रै उपेक्षित हुँदै गएका जेष्ठ नागरिकका लागि लहान नगरपालिका–२४ मा ‘स्नेह वृद्धाश्रम’ स्थापना गरिएको छ। स्नेह वृद्धाश्रम नाम दिइएको उक्त आश्रम अब सहाराविहीन वृद्धहरूको नयाँ घर बन्ने अपेक्षा गरिएको छ। नगर प्रमुख महेश प्रसाद चौधरी ले आश्रमको उद्घाटन गर्दै जेष्ठ नागरिकको सम्मान र संरक्षण स्थानीय तहको प्राथमिकतामा पर्ने बताए। नगरपालिकाले गोविन्दपुरस्थित ऐलानी करिब १० कट्ठा जग्गा उपलब्ध गराएपछि आश्रम भवन निर्माण प्रक्रिया सुरु भएको हो। निर्माणका लागि पूर्वाधार विकास कार्यालय सिरहा मार्फत २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस अभियानको नेतृत्व मुक्ति नेपाल की सिरहा उपाध्यक्ष रिता महतो ले गरेकी छन्। “जेष्ठ नागरिकको सेवा गर्ने इच्छा धेरै अघिदेखि थियो, अब त्यो सपना साकार हुँदैछ,” उनी भन्छिन्। आश्रम सञ्चालन भने चुनौतीपूर्ण रहने देखिन्छ। महतो भन्छिन्, “दाताहरू खोज्दैछु, सहयोग आउँछ भन्ने विश्वास छ। आवश्यक परे भिक्षा मागेर भए पनि सेवा रोकिने छैन।” उनका अनुसार आश्रममा छोराछोरी नभएका, वा भएर पनि हेरचाह नपाएका देशका जुनसुकै स्थानका जेष्ठ नागरिकलाई राखिनेछ। ११ सदस्यीय कार्यसमिति रहेको आश्रममा संजय अग्रवाल उपाध्यक्ष छन्। उद्घाटनकै दिन करिब डेढ दर्जन जेष्ठ नागरिकलाई गम्छा ओढाएर सम्मान गरिएको थियो। परिवारको घेराभन्दा बाहिर धकेलिँदै गएका जेष्ठ नागरिकका लागि यो पहल केवल भवन निर्माण होइन,सामाजिक संवेदनशीलताको परीक्षा पनि हो स्नेह वृद्धा आश्रमको अध्यक्ष रिता महतोले जानकारी दिनु भयो। अध्यक्ष महतोकि अथक प्रयास पछि वृद्धा आश्रमको निर्माणका लागी भुमिपुजन सम्पन्न भएको हो। निर्माणको कार्य सुरु हुने भएको छ। लहान नगरपालिकामा पहिलो वृद्धा आश्रम निर्माण हुन् लागेको हो। अध्यक्ष महतो लामो समय देखि महिला अधिकारकर्मीको रूपमा कार्य गर्दै आएको छ।











